मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

पूर्वराष्ट्रपति भण्डारी: १९ खर्ब व्यापार घाटाले अर्थतन्त्र टाउकोले टेक्दैछ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको अर्थतन्त्र वार्षिक १९ खर्ब व्यापार घाटामा रहेको र यो टाउकोले टेक्ने अवस्थामा पुगेको टिप्पणी गरेकी छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। भण्डारीले देशलाई आत्मनिर्भर बनाएर मात्र अन्तरनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिनेमा जोड दिइन्।
Sunita Rai
अर्थ संवाददाता
१ मिनेट पढाइ
आकार:
आत्मनिर्भर अर्थतन्त्र
Share:
११५

वार्षिक २४ खर्बको वैदेशिक व्यापारमा नेपालको १९ खर्ब व्यापार घाटा रहेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले औंल्याएकी छन्। यो अवस्थाले मुलुकको अर्थतन्त्र ‘खुट्टाले टेकेर हिँड्नुपर्नेमा टाउकाले टेकेको’ जस्तो भएको टिप्पणी उनले गरिन्।

शनिबार काठमाडौँमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै भण्डारीले नेपाल भौगोलिक र राजनीतिक रूपले संवेदनशील क्षेत्रमा रहेको बताइन्। उत्तर र दक्षिणमा विशाल जनसंख्या भएका दुई ठुला छिमेकी मुलुकको बीचमा रहेको नेपालले आफ्ना समस्या र आवश्यकताप्रति संवेदनशील हुनुपर्ने उनको भनाइ थियो। करिब तीन करोड जनसंख्या रहेको नेपालका धेरै समस्या छिमेकीको सानो सहयोगले समाधान हुने उनले औंल्याइन्।

प्राकृतिक सुन्दरताले सम्पन्न भए पनि विपद्लगायत समस्याको दीर्घकालीन समाधान नखोज्दा नेपालले सास्ती खेप्नुपरेको भण्डारीले बताइन्। ‘हामी भौगोलिक रूपले मात्र होइन, राजनीतिक रूपले पनि संवेदनशील क्षेत्रमै छौँ,’ उनले भनिन्, ‘विशाल जनसंख्या भएका र धेरै विकास गरेका देशहरूको बीचमा हामी रहेका छौँ।’ तत्कालीन समस्या र विपद् मात्र झेल्ने अवस्थाको अन्त्य गर्दै राज्यले दीर्घकालीन नीति र समाधानमा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ छ।

अर्थतन्त्रको विषयमा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले आत्मनिर्भर नभई अन्तरनिर्भर अर्थतन्त्र निर्माण सम्भव नहुने दाबी गरिन्। अर्थशास्त्री र विज्ञहरूले अन्तरनिर्भर अर्थतन्त्रमा जोड दिए पनि त्यसअघि देश आत्मनिर्भर बन्नुपर्ने उनको तर्क थियो। नेपालमा ठूलो व्यापार कारोबार भए पनि स्वदेशी उत्पादनको हिस्सा न्यून हुँदा अर्थतन्त्रले लाभ लिन नसकेको उनले बताइन्।

कुनै निश्चित शासन व्यवस्थालाई दोष दिनुभन्दा समग्र अवस्थाको दीर्घकालीन मूल्यांकन गर्नुपर्नेमा भण्डारीले जोड दिइन्। ठूला विपद् र संकटको सामना गर्न राष्ट्रिय भावना र एकता आवश्यक पर्ने भन्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर बहस गर्नुपर्ने बताइन्। ‘हाम्रा समस्याहरू समाधान गर्नका लागि हामीले राष्ट्रिय भावना र एकता विचारमा एजेण्डाहरू तय गर्नुपर्छ,’ उनले भनिन्, ‘यी साझा एजेण्डामा हामी सबै एकै ठाउँमा उभिनै पर्छ।’

Sunita Rai

Sunita Rai

अर्थ संवाददाता

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार