NM Khabar 18 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

राष्ट्र बैंकको नयाँ व्यवस्था: बैंक सञ्चालक र ठूला सेयरधनीको पृष्ठभूमि अनिवार्य

बैंक तथा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सीईओ) र ठूला संस्थापक सेयरधनीहरूको व्यक्तिगत तथा वित्तीय पृष्ठभूमि अब अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ। यसका लागि राष्ट्र बैंकले ‘एकीकृत निर्देशन, २०८२’ मा संशोधन गरेको छ। यो व्यवस्थाले बैंकहरूको सुशासन र पारदर्शीतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
Sunita Rai
Sunita Rai
18 June 2026, 6:02 pm १ मिनेट पढाइ
आकार:
Share:

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र पारदर्शीतालाई थप कडाइ गर्दै सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सीईओ) र ठूला संस्थापक सेयरधनीहरूको व्यक्तिगत तथा वित्तीय पृष्ठभूमि अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरेको छ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरूका लागि जारी गरिएको ‘एकीकृत निर्देशन, २०८२’ मा संशोधन गरी यो नयाँ प्रावधान ल्याएको हो। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको छ।

नयाँ व्यवस्था अनुसार बैंकको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापकीय तहमा नियुक्ति वा मनोनयन गर्दा सम्बन्धित व्यक्तिले विस्तृत विवरण र स्वघोषणा पेस गर्नुपर्नेछ। यसमा पारिवारिक र व्यक्तिगत विवरण, कानुनी र फौजदारी पृष्ठभूमि (नेपाल वा विदेशमा कुनै कसूरमा संलग्न वा मुद्दा मामिलामा रहेको), कर्जा सूचना केन्द्रको कालोसूचीमा परे/नपरेको विवरण, नेपाली नागरिक भए नेपाल बाहिर कुनै सम्पत्ति रहे/नरहेको वा कुनै सम्पत्तिमा वास्तविक धनी भए/नभएको र संस्थासँग हुन सक्ने सम्भावित स्वार्थको द्वन्द्व सम्बन्धी विवरण बुझाउनुपर्नेछ।

राष्ट्र बैंकले संस्थापक सेयर खरिद वा नामसारी गर्दा पनि कडाइ गरेको छ। चुक्ता पुँजीको ५ प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढी संस्थापक सेयर खरिद गर्ने वास्तविक धनी वा हितकारी व्यक्तिले पनि सञ्चालकहरूले सरह नै विस्तृत विवरण बुझाउनुपर्नेछ। यदि शेयरधनी कुनै संस्था भएमा, सो संस्थामा १५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका वास्तविक धनीको विवरण समेत अनिवार्य गरिएको छ।

यो निर्देशन जारी हुनुभन्दा अघि नै पदमा बहाल रहेका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापकहरूले पनि तोकिएको विवरण राष्ट्र बैंक समक्ष पेस गर्नुपर्नेछ। साथै, पेस गरिएको विवरणमा कुनै परिवर्तन भएमा सोको जानकारी समेत अद्यावधिक गरी बैंकमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार