अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किमि सडक कालोपत्रे गर्ने घोषणा गरे
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ भित्र देशभर १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने र २७५ वटा सडक पुल निर्माण सम्पन्न गर्ने लक्ष्य घोषणा गरेका छन्। संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उनले भौतिक पूर्वाधार विकासलाई तीव्रता दिने योजना सार्वजनिक गरे।
बजेट वक्तव्यमार्फत वाग्लेले राष्ट्रिय गौरवका आयोजना र रणनीतिक सडक निर्माणलाई प्राथमिकता दिइएको बताए। सरकारले आगामी पाँच वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्य पूर्ण गर्ने लक्ष्य लिएको छ।
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षभित्रै कमला–कन्चनपुर र बुटवल–नारायणगढ सडक विस्तारको कार्य सम्पन्न गरिने बताए। यी सडक खण्डहरू समयमै पूरा गरी यातायात आवागमनलाई सहज र सुरक्षित बनाउने सरकारको योजना छ।
सरकारले पूर्व–पश्चिम राजमार्ग चार लेन विस्तारका लागि ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ। यसै आर्थिक वर्षभित्र नारायणगढ–बुटवल तथा कमला–कञ्चनपुर खण्डको निर्माण कार्य सम्पन्न गरिनेछ।
द्रुतमार्ग अन्तर्गत ४० पुल र ४ सुरुङ निर्माणका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट छुट्याइएको छ। हुलाकी राजमार्गका लागि ४ अर्ब ६५ करोड रुपैयाँ र कर्णाली राजमार्गका लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। मध्यपहाडी लोकमार्ग निर्माणका लागि २ अर्ब १६ करोड रुपैयाँ विनियोजन भएको छ।
