काठमाडौं । बढ्दो महँगी नियन्त्रण र खाना पकाउने ग्यास आपूर्ति सहज बनाउन माग गर्दै नेकपा (बहुमत) ले काँचो चामल खाएर विरोध प्रदर्शन गरेको छ। नेता कार्यकर्ताले प्लेकार्डसहित नाराबाजी गर्दै सरकारको ध्यानाकर्षण गराए।
‘बढ्दो महँगी नियन्त्रण गर’, ‘ग्यासको आपूर्ति सहज गर’, ‘खै ग्यास? बालेनले लुकायाे, खै बालेन माफियाले डुबायो,’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरियो। सरकारले ग्यास वितरण गर्न नसकेको र आफ्नो असक्षमता प्रदर्शन गरेको आरोप लगाइयो।
माइतीघरदेखि बबरमहलसम्म भएको प्रदर्शनमा सहभागीले भोको पेटले ग्यास माग गरे। ‘भोको पेटले के भन्छ ? – भरी ग्यास दे भन्छ, महँगीको मार ग्यासको हाहाकार कहाँ छ सरकार?, दुई तिहाइको सरकार जनतालाई ग्यास खोई,’ जस्ता नारा प्लेकार्डमा लेखिएका थिए।
नेकपा बहुमतका प्रचार प्रसार प्रमुख गुणराज लुइटेलले डिलरहरूले कृत्रिम अभाव सिर्जना गरी रातिको समयमा महँगो मूल्यमा ग्यास बिक्री गर्ने गरेको आरोप लगाए। उनले लामो समयदेखि ग्यासको अभाव हुँदा पनि सरकारले समाधान गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।
