विदेशमा घरेलु कामदारका रूपमा काम गर्दा झापाकी ५५ वर्षीया हस्तिमाया लिम्बूको दुवै मिर्गौलाले काम गर्न छाड्यो। अत्यधिक शारीरिक श्रम र अस्वस्थ खानपानले उनको स्वास्थ्य नाजुक बनायो। चार दिन डायलासिसपछि मालिकले नेपाल फर्काए। कोरोना महामारीबीच डायलासिस गर्दागर्दै संक्रमणले अवस्था झनै जटिल भयो। बहिनीले मिर्गौला दिन खोजे पनि पित्तथैलीको समस्याले प्रत्यारोपण चैत २०८० मा मात्र सम्भव भयो। हालसम्मको उपचारमा ६० लाखभन्दा बढी खर्च भएको हस्तिमाया सुनाउँछिन्। ‘महिनाको औषधि मात्र १५ हजारको खानुपर्छ,’ उनी दुखेसो गर्छिन्।
काभ्रेका ५२ वर्षीय रामबहादुर तामाङको कथा पनि उस्तै छ। काठमाडौंमा डेरा गरी भारी बोक्ने काम गर्दा एक्लै बस्ने उनलाई खाना पकाउन अल्छी लाग्थ्यो। बजारको चिल्लो, तारेको र जंकफुड खाने बानीले स्वास्थ्य बिग्रियो। चिकित्सकले मिर्गौला फेल भएको र प्रत्यारोपण गर्नुपर्ने बताए। दुई वर्षअघि छोराले मिर्गौला दान गरेपछि प्रत्यारोपण सफल भयो। तर, घरजग्गा बेचेर उपचार गर्नुपर्यो। ‘सरकारले ५ लाख सहयोग दियो, तर त्यसले मात्र पुगेन,’ उनी भन्छन्।
जनस्वास्थ्यविद् डा. केदार बरालका अनुसार, रहनसहन र जीवनशैलीमा आएका परिवर्तनले नसर्ने रोगको संख्या बढाइरहेको छ। केही दशकअघिसम्म मृत्युको प्रमुख कारण सरुवा रोग थियो। अहिले नेपालमा मृत्युको कारण बनेका प्रमुख १० रोगमध्ये ८ वटा नसर्ने रोग छन्।
‘बर्डेन अफ डिजिज’को पछिल्लो तथ्यांक अनुसार, नसर्ने रोगले वार्षिक १ लाख ९३ हजार ३३१ जनाको मृत्यु हुन्छ। मुटु तथा रक्तनली सम्बन्धी रोगले ४६ हजार ३९९, दीर्घ श्वास–प्रश्वास रोगले ४० हजार ७९२ र क्यान्सरले २१ हजार ६५३ नेपालीको ज्यान लिन्छ।
चिकित्सा समाजशास्त्री प्रा.डा मधुसूदन सुवेदी नसर्ने रोग बढ्नुको मुख्य कारण जीवनशैलीमा आएको तीव्र परिवर्तन मान्छन्। शारीरिक निष्क्रियता, व्यायामको कमी, बढ्दो मोटोपन र बजारमा उपलब्ध चिल्लो, प्रशोधित तथा ‘फास्ट फुड’को अत्यधिक प्रयोगले मुटु, मधुमेह, क्यान्सर जस्ता समस्या बढाएको उनको भनाइ छ। ‘बजारमा भएका स्वस्थ खाना खाएको ठान्छौं, तर त्यसमा भएको विषादीयुक्त खानेकुराले हामीलाई दिनदिनै मारिरहेको छ,’ डा. सुवेदी भन्छन्।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुका अनुसार, बजारमा पाइने धेरैजसो खानेकुरामा चिल्लो पदार्थ र प्रिजर्भेटिभको मात्रा अत्यधिक हुन्छ। यस्ता ट्रान्सफ्याटयुक्त खानेकुराले शरीरमा कोलेस्ट्रोल बढाउने, उच्च रक्तचाप, मधुमेह र मोटोपन निम्त्याई मुटु, मिर्गौला र मस्तिष्क रोगको जोखिम बढाउँछ। ‘यो तुरुन्त देखिने समस्या होइन, तर दीर्घकालमा मुटुको स्वास्थ्यका लागि मौन विषसरह हुन सक्छ,’ डा. कोजु भन्छन्।
नसर्ने रोगले बिरामीको भार मात्र बढाएको छैन, उपचार खर्चको भार पनि दोब्बरले बढाएको छ। स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार, विपन्न नागरिक औषधि उपचार कार्यक्रममा क्यान्सर, मुटु, मिर्गौला जस्ता कडा रोग लागेका बिरामीको संख्या र उपचारमा लाग्ने सरकारी खर्च पाँच वर्षमा दोब्बरले बढेको छ। आ.व २०७७/७८ मा २ अर्ब १४ करोड खर्च भएकोमा २०८१/८२ मा यो रकम बढेर ४ अर्ब ४२ करोड पुगेको छ।
अहिले स्वास्थ्य बीमा बोर्ड अन्तर्गत नसर्ने रोगको सेवा लिने दर पनि बढ्दो छ। सूचना अधिकारी विकेश मल्लका अनुसार, बीमा मार्फत उच्च रक्तचाप, मधुमेह र क्यान्सर जस्ता नसर्ने रोगका बिरामीहरूले सेवा लिने क्रम बढेको छ।
