पाँचथरमा अविरल वर्षापछिको बाढीपहिरोले चार परिवार विस्थापित भएका छन्, ३५० टन स्टिल ट्रस्ट बगायो।
याङवरक गाउँपालिका–१ का मोहनलाल खवास, कबिर खवास र गङ्गाप्रसाद बेघाको परिवार पहिरोले घर बगाएपछि विस्थापित भएका हुन्। सोही वडाका भगीमान बेघाको घर पहिरोले उच्च जोखिममा पारेपछि उनको परिवार पनि विस्थापित भएको छ।
मोहनलाल र कबिर खवासका सात जनाको परिवार आफन्त शान्ता खवासको घरमा आश्रय लिएका छन्। गङ्गाप्रसादको ६ जनाको परिवार दाजु दुर्गा बेघाको घरमा बसेको छ। भगीमान बेघाका ६ जनाको परिवार पनि सुरक्षित स्थानमा सरेको छ।
कोप्चेटोलका बालानन्द बेघा र मैतराज बेघा, चाम्लिङडाँडाका रबिन राई, रामकुमार राई, रणबहादुर राई, मनकुमारी गुरुङ र डम्बरबहादुर गुरुङका घर जोखिममा छन्। एकराते टोलका रत्नमान राई, लछुमान राई, राजेश राई, कमलबहादुर राई, शेरबहादुर राई तथा खोलाघारी मगरडाँडा टोलका याम मगर, पूर्णकुमार मगर र सुजन मगरका घर पनि जोखिममा परेका छन्। यो जानकारी प्रहरीले दिएको छ।
बाढीले लामिटारबाट चाम्लिङडाँडा जोड्ने झोलुङ्गे पुल र याङवरक–२ दोभानेस्थित झोलुङ्गे पुलमा क्षति पुर्याएको छ। निर्माणाधीन दुईवटा सडक पुल पनि बाढीले बगाएको छ।
पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत याङवरक–२ दोभानेस्थित मेवा खोलामा निर्माणाधीन ४१ फिट लामो सडक पुल, सडक र डाइभर्सन बाढीले बगायो। यसले उक्त खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध पारेको प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए।
तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हिलिहाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर नदीमा निर्माणाधीन लिम्बूनी पुलका संरचना बाढीले बगायो। याक्थुङहाङ निर्माण सेवा प्रालिले बनाइरहेको उक्त पुलका ३५० टन स्टिल ट्रस्ट, अक्सिजन ग्यास सिलिन्डर, इलेक्ट्रिक गन, फलामे पाइपलगायतका सामग्री बगेको प्रहरी नायब उपरीक्षक कर्णले बताए।
पहिरोले पुष्पलाल (मध्यपहाडी) राजमार्गको ओयाम बजार र रिजाल भिर खण्ड पूर्ण रूपमा अवरुद्ध पारेको छ।
बाढी र पहिरोले याङवरक–२ मेवाखोलास्थित हरिहृदुलय मेवाखोला जलविद्युत् आयोजनामा क्षति पुर्यायो। पाँचथर–ताप्लेजुङ सीमामा रहेको इंवाखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रका पर्खालमा पनि क्षति पुगेको छ। काबेली खोलामा रहेको अरुण काबेली जलविद्युत् आयोजनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।
याङवरक–४ सिगेवामा स्थानीय लालबहादुर माबो, लक्ष्मण माबो, योगेन्द्र माबो र छविलाल पोखरेलको अलैँची बगान तथा खेतीयोग्य जमिनमा बाढी पसेर क्षति पुगेको छ।
बाढी र पहिरोले टीकारामे, डल्लेढुङ्गा र सिगेवा खानेपानी योजना, वाराङ सिँचाइ योजना र मेची पहाडी खानेपानी योजनामा समेत क्षति पुर्याएको प्रहरी नायब उपरीक्षक कर्णले जानकारी दिए।
