संघीय संसद्को प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। बैठकको मुख्य कार्यसूची आगामी आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ र स्पष्टीकरण दिने हो।
सचिवालयका अनुसार युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिनेछन्।
यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सम्बन्धित शीर्षकमा उठेका प्रश्नको पनि मन्त्रीहरूले आजको बैठकमा जवाफ दिने कार्यसूची छ।
यसअघि विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले दुई दिनमै बोल्ने क्रम सकाएका थिए। सोमबार ९ मन्त्रालयको बजेटमाथि छलफल भएको थियो। मंगलबार नवप्रवर्तन, कानुन, पूर्वाधार विकास, गृह, ऊर्जा, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालय तथा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमा सांसदहरूले धारणा राखेका थिए।
