प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलहरूले सरकारको विरोध गर्ने पुरानै शैली अपनाउँदा प्रभावकारितामा प्रश्न उठेको छ। सरकारलाई कमजोर पार्ने रणनीति मात्र नभई ठोस विकल्पसहित प्रस्तुत हुनुपर्ने आवाज उठेको छ। बुधबारको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले ‘बालेन्द्रतन्त्र’ जस्ता शब्द प्रयोग गरेपछि नियमापत्ति भएको थियो।
थापाले वर्तमान सरकार काम गर्न नसकेको भन्दै रास्वपा सभापतिलाई सरकार पुनर्गठनको सुझाव दिएका थिए। उनले अन्यथा राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमा ठूलो जनसुनामी आउने चेतावनीसमेत दिए। उनले सरकारको शक्तिको स्रोत ‘आर्मी, अल्गोरिदम र अमेरिका’ भन्दै तिब्बती शरणार्थी, दलाई लामाको जन्मोत्सव र भू–राजनीतिक चलखेलजस्ता विषयलाई बहसको केन्द्रमा ल्याएका थिए।
थापाले नेपाली सेनाजस्तो गैरराजनीतिक संस्थालाई राजनीतिमा जोडेको भन्दै सत्तापक्षका सांसदले समेत आपत्ति जनाएका थिए। यस क्रममा ‘अराजकहरूको भिड’, ‘राष्ट्रिय झन्डा ओढेर देश जलाउनेहरू’ र ‘नेपाली सेना मूकदर्शक’ जस्ता शब्दहरू रेकर्डबाट हटाइएका थिए। विश्लेषकहरूका अनुसार, अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षको भूमिकालाई आक्रामक बनाइराख्न यस्ता अभिव्यक्तिलाई राजनीतिक छुट दिएका छन्।
विश्लेषकहरूले प्रतिपक्षलाई आक्रोश र चेतावनीको भाषाभन्दा पाँचवटा ठोस विकल्प अपनाउन सुझाव दिएका छन्। पहिलो, सरकारको नीतिको आलोचना गर्दा स्पष्ट वैकल्पिक धारणा प्रस्तुत गर्ने। दोस्रो, संशोधन प्रस्ताव, निजी विधेयक वा नीति प्रस्तावमार्फत संसदीय प्रक्रियाभित्रै असहमति व्यक्त गर्ने। तेस्रो, मूल्यवृद्धि, रोजगारी र स्वास्थ्यजस्ता जनजीविकाका विषयमा तथ्यांकमा आधारित समाधानमुखी सुझाव दिने।
चौथो, सेनाजस्तो गैरराजनीतिक संस्थालाई विवादमा नतान्ने प्रतिबद्धता जनाई संवैधानिक निकायमार्फत जवाफदेहिता खोज्ने। पाँचौं, आन्दोलन वा जनसुनामीको चेतावनीभन्दा सर्वदलीय संवाद र समितिस्तरीय छलफलको प्रस्ताव अघि सार्नुपर्ने उनीहरूको सुझाव छ। यी उपायविना प्रतिपक्षको आक्रामकता केवल विरोधका लागि विरोध मात्र रहने खतरा छ।
विपक्षी दलको आक्रामकताका बाबजुद सत्तापक्ष संयमित देखिएको छ। राजनीतिक विश्लेषकका अनुसार, सिधा भिडन्त गर्दा विपक्षीको उत्तेजक एजेन्डाले थप मिडिया क्रेज पाउने र राष्ट्रिय सुरक्षाका अंगहरू विवादमा तानिने जोखिम हुन्छ। त्यसैले सत्तापक्षले नियमापत्ति वा विवादित शब्दहरू रेकर्डबाट हटाउने प्रक्रियागत बाटो रोजेको छ। रास्वपाकी सांसद समीक्षा बाँस्कोटाले थापाले प्रयोग गरेको ‘बालेन्द्रतन्त्र’ शब्दलाई अश्लील, अपमानजनक र आपत्तिजनक भन्दै नियमावलीको नियम २१ (घ) र संविधानको धारा ७६ तथा १७ (घ) आकर्षित गर्दै नियमापत्ति गरेकी थिइन्।
सांसद बाँस्कोटाले राजनीतिक दल खोल्ने स्वतन्त्रता मौलिक हक भएको र जनताको मतबाट सरकार बन्ने उल्लेख गर्दै विपक्षी दलहरूले मतदाताको अपमान र लोकतन्त्रको उपहास गरिरहेको आरोप लगाइन्। उनले संविधानको धारा ७६ बमोजिम सरकार गठन भएको स्मरण गराउँदै थापालाई संविधान पढ्न र मर्यादित शब्द प्रयोग गर्न आग्रह गरिन्।
