काठमाडौंको पिङ्लास्थानमा रहेको ‘हाम्रो डिजिटल स्टुडियो’का सञ्चालकलाई अपहरण गरी फिरौती माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। ४ वैशाखको साँझ भएको यो घटनामा स्टुडियो सञ्चालक विष्णु न्यौपानेलाई नियन्त्रणमा लिई कुटपिट गरी २ लाख नगद लुटेको र त्यसपछि फिरौती मागेको प्रहरीले जनाएको छ।
रुपन्देहीका ६० वर्षीय न्यौपानेलाई बागमती करिडोर हुँदै निलोपुलसम्म पुर्याएर ठूलो रकमको माग गरिएको थियो। प्रहरी अधिकारीहरूका अनुसार सुरुमा ठूलो रकम माग गरिए पनि पछि ५० हजार रुपैयाँमा कुरा मिलेको थियो। फिरौती नदिए ज्यान मार्ने धम्की दिएपछि आफन्तमार्फत रकम बुझाएपछि अपहरणकारी समूह फरार भएको थियो।
घटनाको उजुरीपछि प्रहरी वृत्त गौशालाको टोलीले २४ घण्टाभित्रै दुई जनालाई पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा धनकुटाका योगेन्द्र पौडेल र धनुषाका रवीन कोइराला छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको निर्देशनमा प्रहरी वृत्त गौशालामा राखी अनुसन्धान भइरहेको एसएसपी रमेश थापाले बताए।
मन्त्रालयदेखि विभिन्न संस्थाका कार्ड बरामद
प्रहरीले पक्राउ परेका दुवैको साथबाट विभिन्न मन्त्रालय र संघसंस्थाका परिचयपत्र बरामद गरेको छ। पौडेलको साथबाट वैदेशिक रोजगार सुरक्षा अध्यक्ष, सुरक्षा जागरुक युवा समाज अध्यक्ष, औषध दुरुपयोग अनुसन्धान समिति अध्यक्ष लेखिएका कार्ड तथा शहरी विकास मन्त्रालय सिंहदरबारको भेटघाट कार्ड बरामद भएको छ। यस्तै, नोबल बैंकको ३ लाखको चेक, वैदेशिक रोजगार सुरक्षा समितिलाई लेखिएको निवेदन, ११ हजार नगद र एक मोबाइल फोन पनि फेला परेको छ।
यसैगरी, कोइरालाको साथबाट धर्मकर्म उपभोक्ता सहकारी संस्थाको लोन अफिसर कार्ड, ज्योति विकास बैंकको २ लाखको चेक, पासपोर्ट फोटोकपी, ब्लुबुक र मोबाइल फोन बरामद भएको छ।
उद्धारको नाममा ठगी धन्दा
प्रहरीका अनुसार यो समूहले उद्धारको नाममा ठगी धन्दा चलाउँदै आएको छ। वैदेशिक रोजगार सुरक्षा अध्यक्षको परिचयपत्र देखाएर विदेशमा अलपत्र परेका व्यक्तिका आफन्तसँग रकम असुल्ने र पीडितको विवरण पठाउने पक्षलाई देखाएर थप ठग्ने गरेको पाइएको छ। प्रहरी अधिकारीहरूले उनीहरूले दुवै पक्षलाई ठग्ने गरेको बताएका छन्।
प्रहरीका अनुसार पक्राउ परेका दुवै व्यक्ति यसअघि पनि यस्तै कसुरमा संलग्न भइसकेका छन्। उनीहरूविरुद्ध यसअघि पनि प्रहरी वृत्त गौशाला र नयाँ बानेश्वरमा उजुरी परेको थियो। पैसा उठाइदिन्छु भन्दै ठग्ने र अर्कालाई दिनुपर्ने चेक आफ्नै नाममा काट्ने जस्ता अवैध गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ।
डाँका चोरी र अपहरण फिरौतीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धानलाई तीव्र पारेको छ। यस घटनाबाट थप व्यक्तिहरू ठगिएको हुनसक्ने आशंकामा प्रहरीले पीडितहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ।
