पोखराको मुटुमा फिर्के खोला मिचेर बनेका १६० अतिक्रमित संरचनामाथि आजदेखि डोजर चलाइएको छ। पोखरा महानगरपालिकाले लामो समयदेखि चर्चामा रहेको फिर्के खोलालाई प्राकृतिक बहावमा फर्काउन यो अभियान सुरु गरेको हो।
महानगरपालिकाले गत वैशाख ३ गते सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन ३५ दिनको समयसीमा तोकेको थियो। उक्त समयसीमा शनिबार समाप्त भएपछि महानगरले आजदेखि अभियान थालेको हो।
महानगर प्रमुख धनराज आचार्यले खोलाघरभित्रका अतिक्रमित संरचना हटाउने कार्य तीन स्थानबाट सुरु गरिने बताए। उनले पूर्वसूचना दिइएकाले आजदेखि खाली गर्ने अभियान थालिएको स्पष्ट पारे।
महानगर प्रमुख आचार्यले जिरोकिमी नजिक फिर्केपुलबाट अभियानको औपचारिक सुरुआत गरे। पोखरा–२ र १८ को सिमाना अँधेरिकुना, फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिर, तथा जिरोकिलोमिटरस्थित लायन्स भवन नजिकबाट डोजर चलाइएको छ। यो अभियान बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको नेतृत्वमा चल्नेछ।
प्रमुख आचार्यले भने, ‘फिर्के खोला लगायतका सबै सार्वजनिक जमिनका संरचना हटाएर सार्वजनिक सम्पत्तिको संरक्षणका लागि महानगरले योजनाबद्ध काम सुरु गरेको छ। आजदेखि खाली गराइएको क्षेत्र खोलाघरभित्रको भाग हो। खोला कसैको निजी सम्पत्ति हुन सक्दैन भन्ने तथ्यलाई हामी सबैले गम्भीरतापूर्वक मनन गरौँ।’
महानगरको सूचनापश्चात् केही संस्थाले आफ्ना संरचना आफैं खाली गरिसकेका छन्। फिर्केमा रहेको लायन्स क्लबले शुक्रबार नै सबै सामान सारेको थियो। फोटोग्राफर सङ्घ लगायतले पनि भवन खाली गरेका छन्।
महानगरको नापजाँच प्रतिवेदनअनुसार फिर्के खोलाघरमाथि १६० संरचना निर्माण गरिएका छन्। यसमध्ये ९७ अस्थायी र ३५ स्थायी संरचनाले खोला मिचेको प्रतिवेदनमा उल्लेख छ। खोलामाथि १० अस्थायी र १८ स्थायी प्रकृतिका संस्थागत संरचना पनि पाइएका छन्।
आठ किलोमिटर लामो फिर्के खोला पोखरा महानगरपालिका–१८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिन्छ। यसको चौडाइ ३.३० मिटरदेखि ४० मिटरसम्म रहेको नापजाँचले देखाएको छ। खोलाको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ गरी कुल ५८८ सीमास्तम्भ गाडिएका छन्।
