रसुवामा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी दिवंगत भएका प्रहरी कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ आर्थिक सहयोग गरिने भएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा बसेको नीति निर्माण समितिको बैठकले यो निर्णय गरेको हो।
बैठकले बाढीमा ज्यान गुमाएका प्रहरीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्यो। बाढीमा अझै सम्पर्कविहीन रहेका प्रहरीहरूको खोजीका लागि विशेषज्ञसहितको टोली परिचालन गरिनेछ।
दिवंगत प्रहरीका परिवारलाई नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गरिनेछ। इच्छुक परिवारका एक सदस्यलाई सीपमूलक तालिम प्रदान गरी रोजगारीका लागि पहल गरिनेछ। उनीहरूका सन्ततिलाई प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र साँगा, काभ्रेमा उच्च शिक्षासम्मको सम्पूर्ण शैक्षिक शुल्क मिनाहा गरिनेछ।
बाढीबाट प्रत्यक्ष प्रभावित टिमुरे प्रहरी कार्यालय, मैलुङ अस्थायी प्रहरी पोस्ट, रसुवागढी, स्याफ्रुबेँसी र बेत्रावती प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीलाई व्यक्तिगत सामग्री क्षतिको राहतस्वरूप जनही ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ। मानवस्रोत विकास विभागले यी प्रक्रिया सहजीकरण गर्न एक सिनियर प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोक्नेछ।
रसुवा बाढीले पुर्याएको क्षतिको राहत, उद्धार र पुनःस्थापना कार्यमा सहयोग पुर्याउन नेपाल प्रहरीले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ४० करोड रुपैयाँ हस्तान्तरण गर्ने निर्णय गरेको छ।
यसैबिच, मोरङ जिल्लाका उद्योगी, व्यवसायी, सङ्घसंस्था र व्यक्तिगत दाताहरूबाट रसुवा बाढी पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि ९८ लाख ६४ हजार ७ सय ३५ रुपैयाँ सङ्कलन भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार मोरङ उद्योग व्यापार सङ्घले ३१ लाख, न्युरो अस्पताल विराटनगरले २१ लाख १११ रुपैयाँ र शिक्षादीप कला विराटनगरले १२ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्।
नेपाल उद्योग वाणिज्य सङ्घ (कोशी प्रदेश)बाट ११ लाख र अरिहन्त ग्रुप विराटनगर–९ बाट १० लाख ११ हजार रुपैयाँ प्राप्त भएको छ। आकृति एड्भर्टाइजिङले ५ लाख ५५ हजार सहयोग गर्यो। विराट व्यापार सङ्घ र नेपाल औषधि व्यवसायी सङ्घले जनही १ लाख ३१ हजार प्रदान गरेका छन्।
नेपाल न्यूरोसर्जनस् समाजले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। समाजले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता नागरिकहरूको सकुशल उद्धारको कामना गरेको छ।
