NM Khabar 13 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रचण्डको आरोप: प्रधानमन्त्री बालेनको एकलकाँटे प्रवृत्ति राष्ट्रिय समस्या

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। प्रचण्डले बाढीपीडितको उद्धार र राहतमा सरकारले अपेक्षित समन्वय र तत्परता नदेखाएको आरोप लगाएका छन्। विपद् व्यवस्थापनमा प्रधानमन्त्रीको एकलकाँटे प्रवृत्ति राष्ट्रिय समस्या भएको प्रचण्डको ठहर छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
12 September 2026, 7:03 pm १ मिनेट पढाइ
आकार:
प्रचण्ड बालेन आरोप
Share:

नुवाकोट, २७ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको एकलकाँटे र हेपाहा प्रवृत्ति राष्ट्रिय समस्या भएको आरोप लगाएका छन् । शनिबार भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले विपद् व्यवस्थापनमा अपेक्षित समन्वय र तत्परता नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘सबै मिलेर जनताको उद्धार र राहतमा केन्द्रित हुनुपर्छ र त्यसका लागि सबैसँगको समन्वय आवश्यक छ,’ प्रचण्डले भने, ‘तर, बाढी गएको पाँच दिनसम्म पनि सरकारको तर्फबाट खोज, उद्धार र राहतमा आवश्यक समन्वय र तत्परता देखिएन ।’

उनले यसअघि भूकम्पलगायतका राष्ट्रिय विपत्तिमा आफूले सत्तापक्ष वा प्रतिपक्ष नभनी सरकारलाई पूर्ण साथ दिएको स्मरण गराए । ‘सेना भए पुग्छ जस्तो गरियो, तर सेनाले राम्रो काम गरेको छ,’ उनले सुरक्षा निकायलाई धन्यवाद दिँदै भने, ‘तर, यो महाविपत्ति सेना एक्लैले सामना गर्न सम्भव छैन ।’

प्रचण्डले स्थानीय सरकार, प्रदेश सरकार, राजनीतिक दल र सामाजिक संघसंस्थाहरूको सहयोग अपरिहार्य रहेको बताए । ‘त्यसका लागि समन्वय गर्ने दायित्व सरकार र मुख्यत: प्रधानमन्त्रीकै हुन्छ,’ उनले भने, ‘प्रधानमन्त्रीले न त सर्वदलीय सहमतिका लागि प्रयास गर्नुभएको छ, न त विगतको अनुभव भएकाहरूसँग राय, सल्लाह लिनुहुन्छ । देखेर पनि नदेखेझैँ गरी हिँड्नुहुन्छ । यही नै अहिलेको राष्ट्रिय समस्या भएको छ ।’

उनले विभिन्न विज्ञहरूले विपत्तिमा सहयोग गर्न चाहेको बेला पनि सरकारले वास्ता नगरेको आरोप लगाए । ‘सुरुङभित्र फसेका नागरिकहरूलाई बचाउँछौँ भन्दा पनि सरकारले सहयोग चाहिँदैन भन्दै घमण्ड गरेर बसिरह्यो,’ उनले भने, ‘आफैँ बचाउँछौँ भन्दै गम्भीर नभएकाले त्यहीँनेर ठूलो गल्ती भयो ।’ पछि १० दिनपछि तिनै विज्ञहरूले सुरुङबाट मान्छे बचाएको उनले दाबी गरे ।

जिल्ला समन्वय समिति नुवाकोटको आयोजनामा भएको सर्वपक्षीय बैठकमा सहभागी हुँदै प्रचण्डले सबै पक्ष मिलेर उद्धार र राहतमा जुट्नुपर्नेमा जोड दिए ।

यसैबीच, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का उपाध्यक्ष तिलकप्रसाद गैरेले बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख सहयोग गरेका छन् । यस्तै, नेपाल चेम्बर अफ कमर्सले पनि रसुवाका बाढी प्रभावित परिवारका लागि बिस्कुट, स्यानिटरी प्याड, ब्ल्यांकेट, तन्ना लगायतका अत्यावश्यक सामग्री सहयोग गरेको छ ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार