पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था स्थिर छ। श्वासप्रश्वाससम्बन्धी लक्षण देखिएपछि उनी शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए।
मेडिसिटी अस्पतालले आइतबार बेलुका जारी गरेको स्वास्थ्य बुलेटिनमा दाहालको स्वास्थ्य अवस्था स्थिर रहेको र उपचारप्रति सकारात्मक प्रतिक्रिया देखाइरहेको उल्लेख छ। चिकित्सकहरूको प्रारम्भिक परीक्षणमा उनलाई निमोनियाको संक्रमण देखिएको अस्पतालले पुष्टि गर्यो।
अस्पतालका अनुसार आवश्यक स्वास्थ्य परीक्षण सम्पन्न भइसकेको छ। उपचार प्रक्रिया सुरु गरिएको छ। पूर्ण स्वास्थ्य लाभ सुनिश्चित गर्न र निरन्तर निगरानीका लागि सावधानी स्वरूप उनलाई दुई–तीन दिन अस्पतालमै राखी उपचार गरिनेछ।
