प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसदको रोस्ट्रममा दिएको अभिव्यक्तिले राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरेपछि अध्यक्ष नारायण दाहालले बैठक २० मिनेटका लागि स्थगित गरेका हुन्।
नेकपा एमालेले प्रधानमन्त्री शाहले नेपाली जनतासँग माफी माग्नुपर्ने बताएको छ। महासचिव शंकर पोखरेलले सोमबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई खेदजनक, गैरजिम्मेवार र राष्ट्रहितविपरीत भनेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डता जस्ता संवेदनशील विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसदमा व्यक्त गर्नुभएको धारणाप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ। कार्यकारी प्रमुखको पदमा आसीन व्यक्तिबाट ऐतिहासिक यथार्थ, तथ्य र अकाट्य प्रमाणविपरीत अभिव्यक्ति आउनु खेदजनक, गैरजिम्मेवार र राष्ट्रहितविपरीत कार्य हो।’
एमालेका अनुसार नेपालको भूमि, सीमा र राष्ट्रिय स्वाधीनता सम्पूर्ण नेपाली जनताको साझा राष्ट्रिय संकल्प हो।
‘यस्तो संवेदनशील राष्ट्रिय मुद्दामा प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट दिनुभएको गैरजिम्मेवार अभिव्यक्तिले देशको स्थापित अडान, कूटनीतिक दाबी र राष्ट्रिय एकतालाई कमजोर बनाएको छ। यस प्रकारको राष्ट्रहित प्रतिकूल अभिव्यक्तिको हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।
एमालेले थप भनेको छ, ‘नेपाल–भारतबीच लिम्पियाधुरा, कालापानी, लिपुलेक तथा सुस्तासहित ७१ स्थानमा सीमा समस्या रहेको तथ्य सरकारी अभिलेखमै छ। यस्ता विवादहरूको समाधान ऐतिहासिक तथ्य, प्रमाण, कूटनीतिक संवाद र अन्तर्राष्ट्रिय मान्यताका आधारमा हुनुपर्नेमा, आफ्नो कमजोरी लुकाउन ‘नेपालले पनि सीमा मिचेको छ’ भन्नु राष्ट्रिय हितमा कुठाराघात हो।’
