गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगरेको विषयलाई नेपाली कांग्रेसले जनताप्रतिको अनुत्तरदायी र गैरजिम्मेवार व्यवहार मानेको छ। बिहीबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले यसलाई परम्पराविपरीतको कार्य भएको बताइन्।
थापाले भनिन्, ‘गणतन्त्र दिवसमा प्रधानमन्त्रीको अनुपस्थिति जनताप्रतिको गैरजिम्मेवारी हो। अहिलेसम्मको अभ्यास यस्तो थिएन।’ उनले प्रधानमन्त्रीले आउन नसक्नुको कारण स्पष्ट पार्नुपर्ने माग गरिन्। ‘व्यस्तता, स्वास्थ्य वा विदेश भ्रमणजस्ता कारण देखाइएको भए हुन्थ्यो,’ उनले थपिन्।
थापाले कानुनी प्रक्रिया र अनुसन्धानमा कांग्रेसको धारणा स्पष्ट पारिन्। सबैलाई कानुनको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो। अनुसन्धान पारदर्शी र निष्पक्ष हुनुपर्नेमा जोड दिँदै उनले ‘पहिले पक्राउ, पछि अनुसन्धान’ शैलीलाई ‘मिडिया स्टन्ट’ को संज्ञा दिइन्।
‘भदौ २३ र २४ गतेका घटनामा संलग्न व्यक्तिहरू कानुनसम्मत प्रक्रियामा आउनुपर्छ,’ उनले भनिन्। ‘नेपाली कांग्रेस कानुनसम्मत प्रक्रियालाई स्वीकार गर्छ। सत्यतथ्य छानबिन गरी अघि बढ्नुपर्छ।’
थापाले सदनमा सत्तापक्षले पेलेर अघि बढ्न खोजेको टिप्पणी गरिन्। निर्णय सत्तापक्षकै हुने भए पनि विपक्षीका आवाज सुनिनुपर्ने उनको भनाइ थियो। विगतमा विपक्षीका आवाज समेटिने अभ्यास रहेको तर अहिले त्यस्तो नदेखिएको उनले बताइन्।
‘प्रधानमन्त्रीसँग जवाफ माग्ने आमजनताको अधिकार हो,’ उनले भनिन्। ‘जनतामाझ रहेको उत्साह निराशामा परिणत भइरहेको छ।’ उनले प्रधानमन्त्री जनता र सदनप्रति जवाफदेही हुनुपर्ने बताइन्। ‘अभ्यास तोडिएको छ। जसरी पेलेर अघि बढ्नुभएको छ, यसमा हाम्रो ध्यानाकर्षण भएको छ,’ उनले निष्कर्ष सुनाइन्।
