NM Khabar 16 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द: २७७ आश्रित भोकै

कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द छ। ६५ परिवारका २७७ जना विस्थापित भोकै बस्न बाध्य भएका छन्। महानगरपालिकाले व्यवस्थापकीय ढिलाइ भने पनि राधास्वामी सत्संगले भने आफूलाई जानकारी नभएको बताएको छ।
Maya Thapa
Maya Thapa
16 June 2026, 10:18 am १ मिनेट पढाइ
आकार:
सुकुमवासी होल्डिङ सेन्टर
Share:

कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द छ। आइतबार साँझदेखि चुलो नबलेपछि त्यहाँ आश्रित ६५ परिवारका २७७ जना भोकै बस्न बाध्य भएका छन्। सोमबार चिउरा खाएर गुजारा गरेका उनीहरूले मंगलबार बिहानसमेत खाना पाएनन्।

होल्डिङ सेन्टरका एक आश्रितले फोनमा गुनासो गरिन्, ‘अस्तिको दिन साँझ ६ बजेदेखि खाना बन्द भएको आज बिहानसम्म पनि आएको छैन।’ सरकारले उपत्यकाका नदी किनारका सुकुमवासी बस्ती भत्काइदिएपछि स्थायी बसोवासको आशमा झन्डै दुई महिनादेखि उनीहरू ट्रसमा अस्थायी टेन्ट टाँगेर बसिरहेका छन्।

राधास्वामी सत्संगको प्याकिङ खाना वा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको मेसको भरमा दिन काटिरहेका उनीहरूले सोमबार दिनभर खाना पाएनन्। खान नपाएपछि विद्यालय जाने बालबालिकाको पढाइ छुट्यो। बिरामीले औषधि खानसमेत खाना नपाएपछि उनीहरू आन्दोलनमा उत्रिए। मंगलबार पनि स्थिति उस्तै थियो।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले यसलाई ‘सिस्टम चेन्ज’ हुँदाको सामान्य ढिलाइ भनेका छन्। उनले ५–६ घण्टाको व्यवस्थापनमा समस्या आएको दाबी गरे। महानगरले उनीहरूको रेखदेख गर्ने जिम्मा लिएको छ।

तर, राधास्वामी सत्संग आश्रमले भने खाना खुवाउने विषयमा आफूलाई कुनै जानकारी नभएको बताएको छ। आश्रमका एक कर्मचारीले भने, ‘महानगरले खाना खुवाउन सुरु गर्नुभन्दा पहिले सुरुका केही दिन हामीले आफ्नै तर्फबाट खुवाएका हौँ। जब महानगरले जिम्मेवारी लियो, त्यसपछि हामीले केही पनि गरेका छैनौँ।’

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार