राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छिन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा उनले बजेट छलफल कर्मकाण्डी भएको टिप्पणी गरिन्।
ओलीले १८ मन्त्रालयका विकास कार्यक्रमका पुस्तिका दुई दिनमा अध्ययन गरी खर्च कटौती प्रस्ताव तयार पार्न भनिनु अव्यवहारिक भएको बताइन्। ‘हामी कुनै सुपर कम्प्युटर होइनौँ, यति संक्षिप्त समयमा गम्भीर विश्लेषण सम्भव छैन,’ उनले भनिन्।
पूर्वाधार विकास मन्त्रालयबारे बोल्दै सांसद ओलीले रणनीतिक आयोजनालाई निरन्तरता दिनु सकारात्मक भएपनि कार्यान्वयन पक्ष फितलो रहेको औंल्याइन्। ‘नयाँ आयोजना घोषणा गर्ने होडभन्दा पुराना रणनीतिक आयोजना सम्पन्न गर्ने नीति सरकारले अघि सार्नुपर्छ,’ उनले भनिन्।
उनले सडक मर्मत, जलवायुमैत्री पूर्वाधार र दुर्घटना न्यूनीकरणका लागि स्पष्ट योजना नभएकोमा सरकारको ध्यानाकर्षण गराइन्।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा कुल बजेटको जम्मा ०.१८ प्रतिशत मात्र विनियोजन गरिएकोमा ओलीले आपत्ति जनाइन्। सरकारले एआई, रोबोटिक्स र स्पेस टेक्नोलोजीका ठूला कुरा गरे पनि स्थानीय तहमा नवप्रवर्तनका लागि शुन्य बजेट राखेको उनको तर्क थियो।
ऊर्जा क्षेत्रमा प्रशारण लाइन विस्तार र भारततर्फको निर्यात रणनीति सकारात्मक देखिए पनि आन्तरिक खपत बढाउने ठोस योजना नभएको उनले बताइन्।
