रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले १,०५६ जनाको ज्यान लिएको छ। मंगलबार साँझ ६ बजेसम्म ११,९९३ जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै ३,९१६ जना नागरिक सम्पर्कविहीन छन्।
बाढीले बगाएका १,०५० शव तथा अंग विभिन्न तटीय जिल्लामा फेला परेका छन्। चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६ र नवलपरासी पश्चिममा १७० वटा शव भेटिएका छन्। नुवाकोटमा १४२, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव फेला परेको छ।
सम्पर्कविहीन ३,९१६ मध्ये नुवाकोटबाट १५५८ र रसुवाबाट ८६५ जना छन्। जलविद्युत् आयोजनाबाट ६३९, विदेशी नागरिक ५८३ र विदेशी पर्यटकसँग गएका नेपाली १६४ जना हराइरहेका छन्। सेनाका ४५, प्रहरीका २५ र सशस्त्र प्रहरीका १३ सुरक्षाकर्मी पनि सम्पर्कविहीन छन्।
हालसम्म ११,९९३ जनाको उद्धार भएको छ। सेनाले हेलिकप्टरमार्फत २७३ विदेशी र ४,०९१ नेपालीको उद्धार गरेको छ। उद्धारका लागि सेनाले ६१० पटक र निजी क्षेत्रले २९ पटक हेलिकप्टर उडान गरेका छन्।
बाढीमा २९२ जना घाइते भएकामा १८२ जना डिस्चार्ज भएका छन्। विपद् व्यवस्थापनमा ९,१९९ सेना, ७,९१२ प्रहरी र ४,२०३ सशस्त्र प्रहरीसहित २१,३१४ सुरक्षाकर्मी खटिएका छन्।
सरकारले रसुवा र नुवाकोटलाई १/१ करोड, धादिङलाई ५० लाख र १५ पालिकालाई ६.७५ करोड रुपैयाँ राहत दिएको छ। मंगलबार थप ६.७५ करोड रुपैयाँ निकासा गरिएको छ। ३७ ट्रक र ३७ बोलेरोमार्फत राहत पठाइएको छ। थप १४ गाडी राहत सामग्री पठाइएको छ।
नेपाल टेलिकमका ११० र एनसेलका ७५ वटा क्षतिग्रस्त टावर सञ्चालनमा आइसकेका छन्। प्रभावित क्षेत्रमा ३५ हजार लिटर डिजेल, १५ हजार लिटर पेट्रोल र ९ हजार लिटर हवाई इन्धन मौज्दात छ।
यसैबीच, विभिन्न जलविद्युत् कम्पनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ६५ लाख रुपैयाँ सहयोग गरेका छन्। व्यवसायी मोहन विक्रम कार्की नेतृत्वका कम्पनीहरूले यो रकम उपलब्ध गराएका हुन्।
कृषि मन्त्री गिता चौधरीको पहलमा कालिमाटी बजारले १६,६०० किलो तरकारी र राहत सामग्री पठाएको छ।
