रसुवाको भोटेकोशी–त्रिशूली बाढीपहिरोमा १,२०४ जनाको मृत्यु भएको छ। ४,२१६ जना अझै सम्पर्कविहीन छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ ६ बजेसम्मको तथ्यांक सार्वजनिक गर्यो।
प्राधिकरणका अनुसार ११,९१३ जनाको सकुशल उद्धार गरिएको छ। बाढीले बगाएका र विभिन्न अंगसहित १,२०४ शव फेला परेका छन्। ९५ शवको मात्र सनाखत भएको छ।
सम्पर्कविहीन ४,२१६ मध्ये ९०० जलविद्युत् कर्मचारी र ५८३ विदेशी नागरिक छन्। विदेशी पर्यटकसँग गएका १६४ नेपाली पनि हराइरहेका छन्। सेनाका ४५, प्रहरीका २५ र सशस्त्र प्रहरीका १३ जवान सम्पर्कविहीन छन्। भन्सारका १४, अध्यागमनका ३, क्वारेन्टाइनका ३, निकुञ्जका ३, जनप्रतिनिधि ७, स्थानीय कर्मचारी ३२ र एक शिक्षक बेपत्ता छन्। रसुवाका ८६५ र नुवाकोटका १,५५८ सर्वसाधारण सम्पर्कविहीन छन्।
बाढीमा ३०१ जना घाइते भएका छन्। १९५ जना डिस्चार्ज भइसकेका छन्। सेनाले ३,१११ र सशस्त्र प्रहरीले १,६२८ जनाको स्वास्थ्य उपचार गर्यो।
उद्धारमा २१,३१४ सुरक्षाकर्मी खटिएका छन्। सेनाका ९,१९९, प्रहरीका ७,९१२ र सशस्त्रका ४,२०३ जना छन्। सेनाले ६९० हवाई उडान गरी २७३ विदेशी र ४,०९१ नेपालीको उद्धार गर्यो। निजी हेलिकप्टरले २९ उडान गरे।
घरबारविहीन ३,४५३ जना होल्डिङ सेन्टरमा छन्। नुवाकोटमा २,४६६, रसुवामा ३९८, काठमाडौंमा ३२९ र धादिङमा २६० जना छन्। सडकमार्गबाट ४५ ट्रक र ३७ जिप तथा ९ हेलिकप्टर उडानमार्फत राहत पठाइएको छ।
सरकारले रसुवा र नुवाकोटलाई १/१ करोड, धादिङलाई ५० लाख नगद राहत दियो। १५ पालिकाका लागि ६ करोड ७५ लाख र थप ६ करोड ७५ लाख निकासा गरियो।
नेपाल टेलिकमका ११० र एनसेलका ७५ वटा सञ्चार टावर सञ्चालनमा आएका छन्। प्रभावित क्षेत्रमा ३४ हजार लिटर डिजेल, १६ हजार लिटर पेट्रोल र ७ हजार लिटर हवाई इन्धन मौज्दात छ।
प्रहरीले मृतक प्रहरी परिवारलाई जनही १० लाख राहत दिने निर्णय गर्यो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले मृतकका सन्ततिलाई प्रहरी विद्यालयमा निःशुल्क पढाउने निर्णय गर्यो। इच्छुक परिवारका एक सदस्यलाई सीप तालिम र रोजगारीको पहल गरिनेछ। प्रहरीले लिएको सापटी ऋण मिनाहा गरिनेछ। प्रहरीका व्यक्तिगत सामग्री क्षति भएकालाई जनही ५० हजार राहत दिइनेछ।
