NM Khabar 26 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रसुवामा हिमपहिरो, ल्हेन्दे खोलामा बाढीले १२ जलविद्युत् गृहमा क्षति

रसुवागढी नाका नजिक चीन सीमा क्षेत्रमा चट्टानसहितको हिमपहिरो जाँदा ल्हेन्दे खोलामा बाढी आएको छ। बाढीले १२ वटा विद्युत् गृहमा क्षति पुर्‍याएको छ, जसले ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको छ। बाढीका कारण २५ जना घाइते भएका छन्, जसको काठमाडौँ र रसुवाका अस्पतालमा उपचार भइरहेको छ।
Sanjay Karki
Sanjay Karki
26 August 2026, 6:32 pm १ मिनेट पढाइ
आकार:
रसुवा बाढी हिमपहिरो
Share:

रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा चट्टानसहितको हिमपहिरो गएको छ। यसले ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी ल्याएको छ। बाढी टिमुरे हुँदै त्रिशूली नदीमा मिसिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषणले हिमपहिरोको पुष्टि गरेको बताए।

बुधबार भोटेकोशी नदीमा आएको बाढीले १२ विद्युत् गृहमा क्षति पुर्‍याएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार ११ जलविद्युत् गृह र एक सोलार प्रणालीमा क्षति पुग्दा ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको छ।

क्षति पुगेका आयोजनामा १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सलासुङ्गी (साञ्जेन), १४.८ मेगावाटको अपर साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन, २२ मेगावाटको चिलिमे, २० मेगावाटको अपर त्रिशूली–३ ‘ए’, १४.८ मेगावाटको अपर मैलुङ, ५ मेगावाटको मैलुङ, २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजना छन्। २५ मेगावाटको सोलार प्रणालीमा पनि क्षति पुगेको छ।

बाढीमा २५ जना घाइते भएका छन्। उनीहरूको काठमाडौँ र रसुवाका अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले राष्ट्रिय ट्रमा सेन्टर, वीरेन्द्र सैनिक अस्पताल छाउनी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको बताए। रसुवा अस्पतालमा २१ जना घाइतेको उपचार भइरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार