रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ। तेस्री बालिकाको खोजी कार्य जारी छ।
मंगलबार दिउँसो करिब २ बजे नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका थिए। बुधबार बिहान करिब ६:३० देखि ७ बजेको बीचमा घटनास्थलबाट करिब १.५ देखि २.५ किलोमिटर दक्षिणमा दुई जनाको शव तैरिरहेको अवस्थामा फेला परेको हो।
प्रहरीका अनुसार फेला परेको शव देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका शेख अमरे आलमका करिब १० वर्षीय छोरा मोहमद रमतुल्लाह र सोही स्थानका शेख ओसि अख्तरकी करिब १० वर्षीया छोरी सवनम खातुनको हो।
शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन भने अझै बेपत्ता छिन्। उनको खोजी कार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा ९ जना प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस देवाहीबाट असई भक्तबहादुर शाहीको नेतृत्वमा ७ जनाको टोली खटिएको थियो।
त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट असई भीमबहादुर पुनको कमाण्डमा ९ सदस्यीय डुबान उद्धार (डीएम) टोली पनि खोजी तथा उद्धारमा सक्रिय छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमले बेपत्ता बालिकाको खोजी कार्य तीव्र पारिएको बताएका छन्।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ।
