रौतहट । वाग्मती र बकैया नदीको जीर्ण बाँधले रौतहटका दर्जनौं बस्ती बाढीको उच्च जोखिममा छन्। बाँध फुटेर बर्सेनि गौर सदरमुकामसहितका गाउँ डुबानमा पर्दा करोडौंको धनजन र बालीनाली क्षति हुने गरेको छ।
केही दिनअघिको वर्षाले बकैया नदीको बाँध भत्किँदा राजपुर नगरपालिका–४ मा बाढी पसेर जनजीवन प्रभावित भएको थियो। स्थानीय प्रकाश श्रेष्ठका अनुसार बाँध भत्किँदा कटहरिया, देवाही गोनाही, मौलापुर, ईशनाथ, राजपुर र गौर नगरपालिकाका नागरिक प्रभावित हुने गरेका छन्। बाँध छेउका बासिन्दा बढी मारमा पर्छन्। “जबसम्म नदीको बाँध बलियो बन्दैन, तबसम्म बर्सेनि बाढीले यस भेगका नागरिकको धनजनमा क्षति पुर्याइरहन्छ”, श्रेष्ठले भने।
वाग्मती नदीको कमजोर बाँधले पनि आधा दर्जन स्थानीय तहका नागरिक प्रभावित हुने गरेका छन्। दुर्गाभगवती गाउँपालिका, गढीमाई, माधवनारायण, राजदेवी र गौर नगरपालिकाका बाँध छेउका बस्तीहरू डुबानमा पर्ने गरेको दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले जानकारी दिए। गत वर्ष वाग्मतीको बाढीले करोडौंको धानबाली नष्ट गरेको सिंहले बताए।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको नेतृत्वमा सुरक्षा अधिकारीहरूको टोलीले बिहीबार वाग्मती र लालबकैया नदीको जलस्तर बढ्न थालेपछि सम्भावित बाढीको जोखिमबारे स्थलगत निरीक्षण गरेको छ।
प्रजिअ भुसालले सम्बन्धित निकायलाई क्षतिग्रस्त भागको तत्काल मर्मत र आवश्यक संरक्षणका काम अघि बढाउन निर्देशन दिएका छन्। राजदेवी नगरपालिका–३ स्थित वाग्मती नदीको बाँधमा वर्षा र कटानले सामान्य क्षति पुगेको पाइएको छ।
टोलीले परोहा नगरपालिका–३ तेजापाकडस्थित लालबकैया नदीमा निर्माणाधीन स्पर (कटान नियन्त्रण संरचना) को पनि निरीक्षण गरेको छ। निर्माण प्रगति, बाँधको अवस्था र सम्भावित जोखिमबारे प्राविधिक तथा सरोकारवालाहरूसँग जानकारी लिइएको थियो।
प्रजिअ भुसालले वर्षायाममा बाढी तथा नदी कटानबाट हुने क्षति न्यूनीकरणका लागि संवेदनशील क्षेत्रको नियमित अनुगमन, मर्मत र पूर्वतयारीलाई तीव्र पारिएको बताए। उनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र कुनै पनि विपद् सूचना तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेका छन्। निरीक्षणमा गणपति विश्वास विष्ट, प्रहरी उपरीक्षक सीताराम रिजाल, सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी र उपनिर्देशक कुमार बुढाथोकी सहभागी थिए।
