NM Khabar 28 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रौतहटमा नदी माफियाको राज: प्रहरी र जनप्रतिनिधिको मिलेमतोमा लालबकैयामा अवैध उत्खनन

रौतहटको लालबकैया नदीमा टेण्डर नहुँदै प्रहरी र जनप्रतिनिधिको मिलेमतोमा नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ। स्थानीयका अनुसार ट्र्याक्टरले प्रहरी र सशस्त्र प्रहरीलाई मासिक रकम बुझाएर ढुवानी गरिरहेका छन्। गढीमाई नगरपालिकाको बागमती पुल पनि अवैध उत्खनन र ओभरलोड टिपरका कारण जोखिममा परेको छ।
Arjun Basnet
Arjun Basnet
28 May 2026, 9:32 pm १ मिनेट पढाइ
आकार:
Share:

रौतहटको लालबकैया नदीमा टेण्डर नै नभएको अवस्थामा प्रहरी र केही जनप्रतिनिधिको मिलेमतोमा नदीजन्य पदार्थको व्यापक अवैध उत्खनन भइरहेको छ। गुजरा र फतुवा विजयपुर नगरपालिका क्षेत्रका विभिन्न घाटबाट दैनिक सयौं ट्र्याक्टरले ढुंगा, गिटी र बालुवा उत्खनन तथा ढुवानी गरिरहेका छन्। दुवै स्थानीय तहले आर्थिक वर्ष २०८२/०८३ का लागि हालसम्म नदीको टेण्डर आह्वान गरेका छैनन्।

फतुवा विजयपुर नगरपालिकाका तत्कालीन मेयर गोपाल राय यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि पद गुमाएका थिए। कार्यवाहक मेयर अम्बेया खातुनले पुन: टेण्डर प्रक्रिया अघि बढाउन सकिनन्। गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरीले प्रक्रिया झन्झटिलो भन्दै दुई वर्षदेखि टेण्डर आह्वान गरेका छैनन्। कानुनी व्यवस्थाअनुसार टेण्डर नभएपछि उत्खनन बन्द हुनुपर्नेमा अनियन्त्रित दोहन भइरहेको छ।

स्थानीयका अनुसार गुजराको जंगलसहिया, सिमरी तथा फतुवा विजयपुरको राँगी, बोटावा लगायतका घाटमा बिहानैदेखि बेलुकासम्म ट्र्याक्टरमार्फत नदीजन्य पदार्थ उत्खनन र ढुवानी भइरहेको छ।

स्रोतका अनुसार नदीजन्य पदार्थ उठाउने एक ट्र्याक्टरले इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बेस क्याम्प विजयपुर लक्ष्मिनियामा मासिक चार हजार रुपैयाँ बुझाउँछन्। प्रहरी चौकी हरिनगर पोखरभिन्डा र प्रहरी चौकी छेदीचोकमा मासिक दुई दुई हजार रुपैयाँ बुझाएर ढुवानी निर्बाध रूपमा हुने गरेको आरोप छ।

स्थानीय समाजसेवी मैनुदिन अन्सारी भन्छन्, “मासिक रकम बुझाएकै कारण प्रहरी कार्यालय अगाडिबाटै ट्र्याक्टर ओहोरदोहोर गर्दा पनि कुनै रोकतोक हुँदैन।” उनले केही जनप्रतिनिधिले आफ्नै ट्र्याक्टर र मजदुर प्रयोग गरेको आरोप लगाए। केहीले व्यापारीसँग रकम लिएर मौन समर्थन गरेको समेत उनको भनाइ छ।

नदीजन्य पदार्थको अनुगमन र कारबाही गर्ने जिम्मेवारी जिल्ला समन्वय समितिको भएपनि सभापति राम अयोध्या प्रसाद यादवले चासो नदेखाएको स्थानीय गुनासो गर्छन्। नियमनकारी निकायको बेवास्ता र सुरक्षा निकायको कथित मिलेमतोले लालबकैया नदीका विभिन्न घाटबाट दैनिक सयौं ट्र्याक्टर नदीजन्य पदार्थ ढुवानी भइरहेको छ। तस्कर र व्यापारीले ठूलो परिमाणमा गिटी, बालुवा र बोल्डरको अवैध स्टक गरेका छन्।

रौतहटको गढीमाई नगरपालिका समनपुरस्थित बागमती पुल अवैध उत्खनन र ओभरलोड टिपरका कारण जोखिममा परेको छ। बागमती नदी क्षेत्रमा मापदण्ड विपरीत उत्खनन, नदी किनारमा बालुवा–गिटी भण्डारण तथा पुलको क्षमताभन्दा बढी भार बोकेका सवारी सञ्चालन भइरहेको स्थानीयको आरोप छ।

स्थानीयले पुलको तत्काल प्राविधिक परीक्षण, अवैध उत्खनन नियन्त्रण र दोषीमाथि कारबाहीको माग गरेका छन्। ओभरलोड टिपरले पुलमा क्षति पुर्‍याएको छ। सडक बिग्रिने र दुर्घटनाको जोखिम बढेको छ। बागमती नदीको अनियन्त्रित दोहनले वातावरणीय सन्तुलन, खेतीपाती र जनजीवनमा असर पारेको छ।

रौतहटका सिडिओ दिनेश सागर भुषालले नदीहरूको अनुगमन र कारबाही गर्ने अधिकार जिल्ला समन्वय समितिको रहेको बताए। जिल्लाको पूर्विभेग बागमती, चाँदी, पश्चिम लालबकैया नदीमा अवैध उत्खनन र ढुवानीबारे गुनासो आइरहेको छ। समन्वय समितिका सभापतिसँग छलफल भएको छ। केही दिनभित्र स्थलगत अनुगमनको कार्यक्रम रहेको भुषालले जानकारी दिए।

नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआईजी गोबिन्द थपलिया र सशस्त्र प्रहरीका डीआईजी कृष्ण ढकालले नदीजन्य पदार्थको अवैध उत्खनन र ढुवानी नियन्त्रण गर्न जिल्लाका एसपीलाई निर्देशन दिएका छन्। दोषी ठहर हुने प्रहरीलाई कारबाहीको दायरामा ल्याइने उनीहरूले बताए।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार