रौतहटको कटहरिया नगरपालिकामा ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजना अन्तर्गत १५ करोड ७५ लाख रुपैयाँको लागतमा सडक निर्माण सुरु भएको छ। मधेस प्रदेश सरकारको लगानीमा सञ्चालित यो योजनामा सडक कालोपत्रेका साथै पुल, कलभर्ट र नाला निर्माणको काम पनि भइरहेको छ।
निर्माण कम्पनी मुन्ना कन्स्ट्रक्सनले भ्याटसहित १५ करोड ७५ लाख रुपैयाँमा ठेक्का पाएको हो। अध्यक्ष प्रमोदकुमार यादवका अनुसार कटहरिया बजारस्थित विवाह भवनदेखि वडा नम्बर ३ को बडका बडेरवासम्म करिब ३.१ किलोमिटर सडक कालोपत्रे गरिनेछ। पुल तथा कलभर्ट निर्माण अन्तिम चरणमा छ। सडक कालोपत्रेको पहिलो चरणको कामसमेत आरम्भ भएको छ।
सम्झौता अनुसार यस योजनामा विभिन्न स्थानमा ढलान तथा कालोपत्रे, दुईवटा कलभर्ट, तीनवटा ह्युमपाइप कलभर्ट र करिब १ हजार ६ सय मिटर नाला निर्माण गरिनेछ। गत असारदेखि सुरु भएको निर्माण कार्य २०८४ साल असारसम्ममा सम्पन्न गर्ने लक्ष्य छ।
कटहरिया–जंगलसहिया सडक जीर्ण हुँदा स्थानीयले आवतजावतमा सास्ती भोग्दै आएका थिए। सडकको दुरावस्थाले सवारीसाधन सञ्चालनमा समस्या गर्नुका साथै दुर्घटनासमेत हुने गरेको थियो।
हाल बडका बडेरवा गाउँको उत्तरी सिमानासम्म भइरहेको कालोपत्रे सडकले स्थानीयको आवतजावतमा ठूलो राहत पुग्ने कटहरिया नगरपालिका–४ का वडाध्यक्ष चन्दन कुशवाहाले बताए।
वडाध्यक्ष कुशवाहाले बडेरवादेखि पोखरभिन्डासम्मको सडकखण्डलाई पनि कालोपत्रे गर्न मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, अर्थमन्त्री युवराज भट्टराई तथा पूर्वअर्थमन्त्री सुनिलकुमार यादव (जितेन्द्र)को ध्यानाकर्षण गराएका छन्।
बडेरवादेखि पोखरभिन्डासम्मको सडक निर्माण भएमा कटहरिया नगरक्षेत्रका विभिन्न बस्तीहरू मुख्य सडक सञ्जालसँग जोडिन थप सहज हुनेछ।
