रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा पुरानो जग्गा विवादले उग्र रूप लिँदा चक्कु प्रहारबाट बुटन साहको मृत्यु भएको छ। प्रहरीले घटनामा संलग्न बाबु रामऔतार साह र छोरा राममहेश्वर साहलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, गएराति करिब ८:१५ बजे स्थानीय रामबहादुर साह, उनका ज्वाइँ बुटन साह, रामऔतार साह र उनका छोरा राममहेश्वर साहबीच जग्गाको स्वामित्वलाई लिएर भनाभन भएको थियो।
विवाद चर्किँदै जाँदा हात हालाहालको अवस्था सिर्जना भयो। सोही क्रममा राममहेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।
ढाडमा गम्भीर चोट लागेका बुटन साहलाई तत्काल प्रादेशिक अस्पताल गौर लगिएको थियो। उपचारकै क्रममा राति करिब ९:०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनामा रामबहादुर साहको टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीले चक्कु प्रहारका आरोपित राममहेश्वर साह तथा झैझगडामा संलग्न उनका बुवा रामऔतार साहलाई नियन्त्रणमा लिएको छ। घटनास्थलबाट प्रमाण सङ्कलन गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार पुरानो जग्गा विवादकै कारण यो घटना भएको प्रारम्भिक रूपमा खुलेको छ। प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान गरिरहेको बताएको छ।
