रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक बिहीबार बिहान करिब ५:३० बजे १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर अनियन्त्रित भई पल्टिँदा भीषण आगलागी भएको छ। बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर सडकमा अचानक आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई पल्टिएको थियो।
दुर्घटनापछि ट्याङ्करमा तत्काल आगो लागेको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार चालक समयमै बाहिर निस्कन सफल भएकाले सकुशल छन्। घटनामा कुनै मानवीय क्षति भएको छैन।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकल परिचालन गरिएको थियो। आगलागी नियन्त्रणमा आएपछि पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन सुचारु भएको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ।
