NM Khabar 13 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कटहरियाबाट तीन बालक बेपत्ता: दिल्ली जाने अपुष्ट सूचनाले परिवार चिन्तित

रौतहटको कटहरिया बजारबाट कक्षा ५ मा अध्ययनरत तीन बालक बेपत्ता भएका छन्। कटहरिया नगरपालिका ५ का सकील अन्सारी, कुन्दन साह सोनार र पवन कुमार दास सरभंग हराएका हुन्। उनीहरू भारतको दिल्ली जाने योजनामा रहेको अपुष्ट जानकारी प्राप्त भएको छ।
Maya Thapa
Maya Thapa
13 May 2026, 2:32 pm १ मिनेट पढाइ
आकार:
Share:

रौतहटको कटहरिया बजारबाट कक्षा ५ मा अध्ययनरत तीन बालक बेपत्ता भएका छन्, उनीहरू भारतको दिल्ली जाने अपुष्ट सूचनाले परिवारको छटपटी बढेको छ।

कटहरिया नगरपालिका ५ निवासी १४ वर्षीय सकील अन्सारी, १४ वर्षीय कुन्दन साह सोनार र १२ वर्षीय पवन कुमार दास सरभंग गत सोमबारदेखि हराइरहेका हुन्।

सोमबार दिउँसो विद्यालयबाट घर फर्किएपछि “बाहिर खेल्न जान्छौं” भन्दै निस्किएका बालकहरू त्यसपछि घर फर्किएनन्। साँझसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजी सुरु गर्‍यो।

आफन्त र साथीभाइबीच खोजी गर्दा कुनै सुराक नलागेपछि सोही रात परिवारले ईलाका प्रहरी कार्यालय कटहरियामा उनीहरूको फोटोसहित निवेदन दर्ता गर्‍यो। प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

अभिभावकका अनुसार, हराइरहेका मध्ये सकील अन्सारीसँग केही नगद रकम थियो। उनीहरू भारतको दिल्ली जाने योजना बनाइरहेका थिए भन्ने अपुष्ट जानकारी साथीहरूबाट प्राप्त भएको छ। यद्यपि, यसको आधिकारिक पुष्टि हुन सकेको छैन।

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मोहन आले मगरले बालकहरूको तस्वीर र हुलियासहितको विवरण सम्बन्धित निकायहरूमा पठाइसकेको जानकारी दिए। नेपालभर खोजी कार्य जारी छ। भारतीय प्रहरीसँग समन्वयका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमार्फत पत्राचार प्रक्रिया अघि बढाउन प्रहरीले अभिभावकलाई सुझाव दिएको छ।

प्रारम्भिक चरणमै रहेकाले यो अपहरण हो वा बालकहरू आफैं कतै गएका हुन् भन्ने निष्कर्षमा पुग्न नसकिएको प्रहरीले जनाएको छ। कटहरिया बजार क्षेत्रबाट एकैपटक तीनजना विद्यार्थी हराएको घटना यसअघि नदेखिएको भन्दै स्थानीयवासी चिन्तित बनेका छन्।

यदि कसैले यी बालकहरूलाई कतै देखेमा नजिकको प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल नम्बर १०० वा मोबाइल नम्बर ९८५५०४२०९५ मा तत्काल जानकारी दिन परिवार तथा प्रहरीले आग्रह गरेका छन्।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

Nmkhabar की समाज तथा मानवीय रुचिकी फिचर लेखिका। सामुदायिक कथा, महिला र बालबालिकाका विषयमा गहन र संवेदनशील रिपोर्टिङ गर्छिन्।

सम्बन्धित समाचार