भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गत वैशाख १६ गते चीनसँग ११ अर्ब रुपैयाँ अनुदानसम्बन्धी प्रक्रिया पूरा गरेसँगै काठमाडौं चक्रपथको कलंकी–महाराजगञ्ज खण्ड विस्तारको बाटो खुलेको छ।
सन् २०७५ सालमै चीनसँग सम्झौता भए पनि विभिन्न प्रशासनिक र प्राविधिक अड्चनका कारण चक्रपथ विस्तारको दोस्रो खण्ड अगाडि बढ्न सकेको थिएन। सरकार परिवर्तन, मन्त्रालयको नेतृत्व फेरबदल तथा प्रक्रियागत दोहोरोपनले परियोजना लामो समय कागजमै सीमित बनेको थियो।
यसअघि कोटेश्वरदेखि कलंकीसम्मको १०.३९ किलोमिटर सडक विस्तारमा चीनले करिब ५ अर्ब रुपैयाँ अनुदान दिएको थियो भने नेपाल सरकारले निर्माण सामग्रीमा कर छुट दिएको थियो। दोस्रो खण्डमा पनि सोही मोडेलअनुसार काम हुने निर्णय मन्त्रिपरिषद्ले गत फागुन १२ गते गरिसकेको छ।
चीनको ११ अर्ब अनुदान र नेपालको प्रशासनिक सक्रियता
यस परियोजनाका लागि चीन सरकारले ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ। सरकारी अधिकारीहरूका अनुसार, साइट क्लियर गर्ने काम र प्राविधिक तयारीमा लागेको लामो समयपछि अहिले निर्माण कार्य अघि बढाउने तयारी अन्तिम चरणमा पुगेको छ।
चीनको शहरी सडक मापदण्डअनुसार कुल ३८.५ मिटर चौडा हुने यो सडकमा दुवैतर्फ २.७५ मिटर चौडाइका फुटपाथ रहनेछन्। चार–चार लेनका दुईतर्फी सडक निर्माण गरिनेछ भने सडकको बीच भागमा हरियाली, विद्युत् तथा इन्टरनेट व्यवस्थापनका लागि छुट्टै तीन मिटर क्षेत्र छुट्याइने योजना छ।
काठमाडौं चक्रपथ सुधार आयोजना प्रमुख डी.ई. आशिका पोखरेलका अनुसार, पहिलो चरणमा चिनियाँ पक्षले डिजाइन पेश गर्नेछ, र डिजाइन स्वीकृतिपछि निर्माण कार्य अगाडि बढाइनेछ। यससँगै, सीतापाइला–स्वयम्भू चोक, ढुंगेधारा–बालाजु, बालाजु–माछापोखरी तथा सामाखुसी–बसुन्धरा चौकीबीच चारवटा अपाङ्गमैत्री आकाशे पुल र कलंकी–स्युचाटार क्षेत्रको सानो पुल तथा विष्णुमती नदीमाथिको पुल विस्तारको योजना पनि कार्यान्वयनमा आउनेछ। माछापोखरीदेखि बसपार्कसम्म ओभरपास निर्माणको प्रस्ताव समेत गरिएको छ, तर उक्त संरचना तत्काल निर्माण गर्ने वा नगर्ने विषयमा भने अन्तिम निर्णय हुन बाँकी छ।
चक्रपथको दोस्रो खण्ड विस्तार सम्पन्न भएपछि बाँकी रहने महाराजगञ्जदेखि कोटेश्वरसम्मको तेस्रो खण्ड भने नेपाल सरकारले आफैं विस्तार गरिरहेको छ। सडक डिभिजन काठमाडौंले महाराजगञ्जदेखि चप्पल कारखानासम्म करिब ९०० मिटर सडक विस्तारको काम लगभग सम्पन्न गरिसकेको छ भने चप्पल कारखानादेखि धोबीखोलासम्मको विस्तार पनि सडक डिभिजन कार्यालय काठमाडौंले नै अगाडि बढाउने तयारी गरेको छ।
