देशभरको अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोमा परी ३१ जनाको मृत्यु भएको छ। गण्डकी प्रदेशमा सर्वाधिक २० जनाले ज्यान गुमाएका छन्। बाढीपहिरोले २५ मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध पारेको छ।
प्रहरीका अनुसार असोज ८ देखि सुरु भएको विपद्मा हालसम्म १ हजार ६ सय ४ जनाको उद्धार गरिएको छ। १२ जना बेपत्ता छन्। ८ जना घाइतेको उपचार भइरहेको छ। देशभर १ सय ६८ घर, २० गोठ, ४ पुल, १ विद्यालय र २ सरकारी कार्यालयमा क्षति पुगेको छ। १ सय १३ पशु मरेका छन्। २ हजार ३ सय २२ घरपरिवार विस्थापित भएका छन्।
गण्डकी प्रदेशमा २० जनाको मृत्यु भएको छ। बागलुङमा १०, म्याग्दीमा ६ र मनाङमा ४ जनाको ज्यान गएको छ। लुम्बिनी प्रदेशको पाल्पामा ५, बागमती प्रदेशमा ३, कर्णाली प्रदेशमा २ र मधेस प्रदेशको धनुषामा १ जनाको मृत्यु भएको छ।
मुख्य राजमार्गहरू पहिरोले क्षतविक्षत बनेका छन्। कान्तिलोकपथ, पृथ्वी राजमार्ग, पृथ्वी लोकमार्ग, नारायणगढ-मुग्लिङ सडकखण्ड, हेटौंडा-भीमफेदी सडक, रसुवा र नुवाकोटका राजमार्ग अवरुद्ध छन्। मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर, चामे-बेसीशहर, बेनी-जोमसोम, बेनी-दरबाङ, जोमसोम-कोरोला, मालढुंगा-बेनी, घोराही-रूकुम शहिदमार्ग, मदन भण्डारी राजमार्ग, रूद्रवेणी-वामीटक्सार, तुलसीपुर-घोराही, गाईघाट-वालिङ, सिद्धार्थ राजमार्ग र ढोरपाटन सडकखण्ड पनि ठप्प छन्।
कर्णाली राजमार्ग, कर्णाली कोरिडोर, नाग्म-गम्गढी, भेरी कोरिडोर र महाकाली राजमार्ग समेत पूर्ण रूपमा बन्द छन्। पृथ्वी राजमार्गको कृष्णभीर, मध्यपहाडी लोकमार्गको पर्वत र काभ्रेस्थित बिपी राजमार्ग एकतर्फी सुचारु गरिएको छ।
जोखिमका कारण सिद्धिचरण लोकमार्ग, मध्यपहाडी लोकमार्ग र टोखा-छहरे सडकखण्डमा रात्रीकालीन आवतजावतमा पूर्ण रोक लगाइएको छ। प्रहरीले स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी अवरुद्ध सडक खुलाउने र विस्थापितलाई सार्ने काम गरिरहेको छ।
पहिरोको उच्च जोखिम कायमै रहेकाले यात्राअघि प्रहरी कार्यालय वा नेपाल प्रहरीको पेजमार्फत सडकको ताजा अवस्था बुझ्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ। भारी वर्षाको चेतावनीपछि राजमार्गमा आवतजावतमा रोक लगाइएको थियो। कलंकीदेखि बल्खुसम्म चार दिनदेखि ट्रकको लाइन लागेको छ।
