सोलुखुम्बुको सिद्धिचरण लोकमार्गमा शुक्रबार २० मिटर सडक भासिएपछि काठमाडौँसँगको सडक सम्पर्क टुटेको छ। निरन्तरको वर्षाले सोलुदूधकुण्ड नगरपालिका-११ सिस्नेरीको साल्मे क्षेत्रमा सडक क्षतिग्रस्त बनाएको हो। प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरका अनुसार सडकको ठूलो हिस्सा भासिएपछि सवारी सञ्चालन ठप्प छ। पहिरो हटाउने प्रयास गर्दागर्दै सडकको तल्लो भाग भासिएर क्षति थपिएको छ।
सडक डिभिजन कार्यालय हर्कपुरसँग समन्वय गरी ग्याबियन संरचना निर्माण र वैकल्पिक मार्गबारे छलफल भइरहेको छ। वर्षा नरोकिएकाले सडक पुनःनिर्माणमा चुनौती छ।
धादिङको कृष्णभिर र तिङग्राङखानीमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध छ। बेनीघाट रोराङ गाउँपालिका-७ का अध्यक्ष कुमार बस्नेतले लेदोसहितको पहिरोले सडक पूर्णरूपमा बन्द गरेको बताए। प्रहरीका अनुसार अन्य स्थानमा साना पहिरोले सडक एकतर्फी सञ्चालनमा छ।
कर्णाली प्रदेशका प्रमुख राजमार्गहरू पनि पहिरोले अवरुद्ध भएका छन्। कर्णाली करिडोर र कर्णाली राजमार्गका विभिन्न खण्डमा पहिरो गएको छ। रुकुमपश्चिमको सम्लेखोलामा पहिरोले मध्यपहाडी राजमार्ग, सल्यानको खारखोलामा पहिरोले राप्ती राजमार्ग बन्द भएको छ। जाजरकोट, कालीकोट, जुम्ला र मुगुका सडकखण्डहरू पनि अवरुद्ध छन्। सडक डिभिजन कार्यालयहरूले उपकरण परिचालन गरेको छ। वर्षा जारी रहेकाले सडक पुनःस्थापनाको काम चुनौतीपूर्ण छ।
