धनुषाको विदेह नगरपालिका वडा नम्बर ३, गोबराहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता सञ्जीव झा र उनको टोलीले बिग्रिएको सडक मर्मत गरेर नागरिकलाई ठूलो राहत दिएका छन्। जनप्रतिनिधिहरू कुर्सीको खेल र बजेटको भागबन्डामा अल्झिरहँदा झाको टोलीले आफ्नै पहलमा वर्षौँदेखिको समस्या समाधान गरेको हो।
गोबराहीदेखि तिनकोरिया चोक जोड्ने यो सडक लामो समयदेखि हिलो, खाल्डाखुल्डी र जोखिमपूर्ण अवस्थामा थियो। यसले स्थानीय बासिन्दा, बिरामी र विद्यार्थीहरूलाई आवतजावतमा निकै सास्ती हुँदै आएको थियो।
जनप्रतिनिधिको बेवास्ता, युवाको सक्रियता
सम्बन्धित वडा कार्यालय र विदेह नगरपालिकाले सडकको दुर्दशालाई लामो समयसम्म बेवास्ता गरेपछि सञ्जीव झाको अगुवाइमा स्थानीय युवाहरूले डोजर झिकाएर सडकको अवरोध हटाएका हुन्। उनीहरूले बाटो सम्याउने र मर्मत गर्ने काम सम्पन्न गरेका छन्।
स्थानीय बासिन्दाहरूले जनप्रतिनिधिहरूले चुनावका बेला गरेका आश्वासन बिर्सिए पनि युवाहरूको यस्तो सक्रियताले प्रत्यक्ष नतिजा दिएको भन्दै खुसी व्यक्त गरेका छन्। उनीहरूले झा र उनको टोलीको प्रशंसा गर्दै काम गर्न इच्छाशक्ति आवश्यक रहेको बताएका छन्।
‘नेताहरूको मुख ताकेर बस्यो भने जनताले सधैँ दुःख मात्र पाउँछन्,’ एक स्थानीयले भने, ‘काम गर्न इच्छाशक्ति चाहिन्छ, पद र बजेटको बहाना होइन।’
यसरी भाषणभन्दा काममा विश्वास गर्ने युवाको कदमले स्थानीय तहका जनप्रतिनिधिहरूलाई गतिलो सन्देश दिएको स्थानीयको भनाइ छ।
