निरन्तरको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव र जलस्तर तीव्र गतिमा बढेको छ। यसैबीच, कोसी ब्यारेजका ४९ वटा ढोका खोलिएको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार पानीको बहाव हजारौं क्यूसेकको रफ्तारमा बढेको छ। दिउँसो २ बजेसम्म एक लाख ८१ हजार ६ सय क्युसेक रहेकोमा दिउँसो ४ बजेसम्म पानीको बहाव एक लाख ९० हजार ३९० क्युसेक पुगेको थियो।
कोसीका कुल ५६ वटा ढोकामध्ये ४९ वटा खोलिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिएका छन्। पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि उच्च सतर्कताको संकेतस्वरूप रातो बत्ती बाल्ने नियमअनुसार अहिले रातो बत्ती बालिएको छ।
सप्तरी प्रशासनले सम्भावित बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
