सप्तरी प्रहरीले तीन सवारी साधनबाट ३ हजार ३३२ किलोग्राम अवैध गाँजा बरामद गरेको छ। तिलाठी कोइलाडी गाउँपालिका ५ मा राति गस्ती गर्ने क्रममा प्रहरीले शंकास्पद तीन सवारी रोकेर खानतलासी गर्दा गाँजा फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार राति हनुमाननगरबाट रामपुर मल्हनियातर्फ जाँदै गरेका तीन सवारी साधनमा खानतलासी गर्दा गाँजा बरामद गरिएको हो। प्रहरीले बा.प्र.०१–०२५ च ०४३६ नम्बरको स्कार्पियोबाट १९ बोरा, प्र.१–०४–००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरा र बा.प्र.०१–०२९ च ९५८६ नम्बरको अर्को पिकअपबाट ३३ बोरा गाँजा बरामद गरेको छ।
प्रहरीले गाँजासहित तीनवटै सवारी साधन नियन्त्रणमा लिएको छ। यद्यपि, घटनामा संलग्न सवारीका चालकहरू भने फरार छन्। प्रहरीले उनीहरूको खोजी कार्य तीव्र पारेको छ।
