दशैँको मौका छोपी सप्तरीको बलान बिहुल गाउँपालिकाबाट ७२ किलो ५ सय ५ ग्राम गाँजासहित सिराहाका राम नारायण ठाकुर र मनोज कुमार मण्डल गएराति पक्राउ परेका छन्। मौवहा पुवारी टोल नजिक सडकबाट इलाका प्रहरी कार्यालय कडरबोनाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिराहाको भगवापुर गाउँपालिका-४ कल्याणपुरका ४८ वर्षीय राम नारायण ठाकुर र सोही गाउँपालिका-१ का ३७ वर्षीय मनोज कुमार मण्डल रहेका छन्। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
यसैबीच, सुनसरी जिल्लामा दशैँको घटस्थापना (असोज २५ गते) देखि नवमीसम्मको अवधिमा १ हजार ५ सय ४५ किलोभन्दा बढी गाँजा बरामद भएको छ। सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुष्पराज मल्लका अनुसार यस अवधिमा चार जनालाई पक्राउ गरी एम्बुलेन्ससहित तीनवटा सवारीसाधन नियन्त्रणमा लिइएको छ।
सुनसरीमा एम्बुलेन्समा लोड गरिएको ५७४ किलो ८७० ग्राम गाँजा बरामद भएको थियो। ‘नेपाल–भारत सहयोग’ लेखिएको स्टिकर टाँसिएको ना.४ च ६०६३ नम्बरको एम्बुलेन्सबाट गाँजा भेटिए पनि चालक र तस्करीमा संलग्न व्यक्ति भने फरार छन्। प्रहरीले एम्बुलेन्समा नक्कली नम्बर प्लेट प्रयोग गरिएको वा सामान्य सवारीसाधनलाई एम्बुलेन्सको स्वरूप दिएर झुक्याउने प्रयास गरिएको हुन सक्ने आशंका गरेको छ।
खुला सीमाले मधेशमा लागुऔषध तस्करीको चुनौती
मधेश प्रदेशका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएकाले यस क्षेत्र लागुऔषध कारोबारको मुख्य ट्रान्जिट प्वाइन्ट बनेको प्रहरीको अनुसन्धानले देखाएको छ। वीरगन्ज जस्ता सीमावर्ती सहरहरूबाट लागुऔषधको कारोबार काठमाडौँसम्म हुने गरेको छ। मधेश प्रदेशमा लागुऔषध दुर्व्यसन गम्भीर समस्याको रूपमा रहेको र खुला सीमाका कारण यसलाई नियन्त्रण गर्न चुनौतीपूर्ण बनेको छ।
प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्तबहादुर कुँवरले लागुऔषध ओसारपसार, बेचबिखन र दुर्व्यसन नियन्त्रण गर्न सबै पक्ष गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन्। चाडपर्वको समयमा सुरक्षा निकायको व्यस्तताको फाइदा उठाउँदै तस्करहरूले गाँजा ओसारपसारलाई तीव्रता दिएको स्थानीयको भनाइ छ।
धनकुटाबाट सुनसरी हुँदै भारततर्फ गाँजा तस्करी
तस्करहरूले धनकुटाका विभिन्न स्थानबाट गाँजा संकलन गरी सुनसरीका विभिन्न नाका र सडकमार्ग प्रयोग गर्दै भारततर्फ लैजाने गरेको पाइएको छ। धनकुटाको शहिदभूमी, मुलघाट, भेडेटार, आहाले र महाभारत क्षेत्रबाट गाँजा संकलन गरी विभिन्न मार्ग हुँदै सुनसरीतर्फ ल्याउने गरिएको स्थानीयले बताएका छन्। गाँजा तस्करीमा धनकुटा प्रहरीको मिलेमतो रहेको स्थानीयले आरोप लगाए पनि यसको पुष्टि भएको छैन।
गाँजा तस्करीमा संलग्न व्यक्तिहरूले सवारीसाधन तीव्र गतिमा चलाउने, प्रहरी पोस्टमा क्षति पुर्याउने तथा अन्य दुर्घटना निम्त्याउन सक्ने जोखिम रहेको एसपी मल्लले बताए। यसले सडकमा खटिएका प्रहरी कर्मचारीको सुरक्षामा समेत जोखिम थपिएको प्रहरीको भनाइ छ।
प्रहरीले बरामद गाँजा र पक्राउ परेका व्यक्तिहरूको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। एम्बुलेन्स कुन संस्थाबाट सञ्चालित थियो भन्नेबारे पनि अनुसन्धान भइरहेको छ। स्थानीयले गाँजा खेतीको वास्तविक अवस्था, उत्पादनको परिमाण र तस्करीमा संलग्न सञ्जालबारे थप अनुसन्धान गर्न माग गरेका छन्।
