सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना बजारमा १४ वर्षीय किशोर मोहम्मद सादिकको शव मोटरसाइकलमा राखेर भाग्दै गरेका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति फरार छन्। प्रहरीले यो घटना सवारी दुर्घटना हो वा हत्या भन्नेबारे अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार साँझ किशोरको मृत्यु भएपछि शव मोटरसाइकलमा राखेर लैजाँदै गरेको अवस्थामा प्रहरीले शंका लागेर पछ्याएको थियो। मृतक शम्भुनाथ–५ मोहनपुरका मोहम्मद सदामाका एक्ला छोरा हुन्।
प्रहरी चौकी बिसनपुरका प्रहरी सहायक निरीक्षक हरेन्द्र यादवको टोलीले बीआर ३२ बी ९७६४ नम्बरको अपाचे मोटरसाइकललाई पछ्याएको थियो। मोटरसाइकलमा सवार दुई जनाले दुर्घटनास्थलबाट करिब ११ किलोमिटर पश्चिम–दक्षिण बोदेबरसाईन–२ हुँदै खडक–१ स्थित दिनाभद्री थान नजिक शव फालेर भाग्न खोजेका थिए।
स्थानीयवासीको सहयोगमा प्रहरीले भारतको बिहार राज्य, मधुवनी जिल्ला, खतौनी पिपराहीका २८ वर्षीय मो. सादर नटलाई पक्राउ गरेको छ। फरार अर्का व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले प्रारम्भिक अनुसन्धानमा किशोरलाई ठक्कर दिएपछि शव मोटरसाइकलमा राखेर भागेको देखिएको बताए।
यद्यपि, घटना सवारी दुर्घटना हो वा आपराधिक घटना, त्यसबारे विस्तृत अनुसन्धान भइरहेको उनले बताए। प्रहरी स्रोतका अनुसार पक्राउ परेका मो. सादर नट बोदेबरसाईन–५ स्थित ‘सोनु मिट हाउस’मा काम गर्दै आएका थिए।
घटनाप्रति आक्रोशित मृतकका आफन्त र स्थानीयवासीले बिहीबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ–६ कठौनामा करिब ३० मिनेट सडक अवरुद्ध गरेका थिए। प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान जारी राखेको छ।
