सर्लाहीको बसबरिया गाउँपालिका-२ निवासी इन्दल सहनीमाथि मिटरब्याजी साहु लक्ष्मी कुर्मी राउतका छोरा बिलास शाह र परिवारजनले निर्घात कुटपिट गरेका छन्। कुटपिटबाट सहनीसहित छोराहरू उमेश सहनी, मुना सहनी र श्रीमती भगवती कुमारी सहनी गरी चार जना गम्भीर घाइते भएका छन्।
इन्दल सहनीले लक्ष्मी कुर्मी राउतसँग ८ लाख रुपैयाँ ऋण लिएका थिए। ऋण लिँदा २६ कठ्ठा जमिनको राजीनामा पास गराइएको थियो। मौखिक सहमति थियो, चुक्ता गरेपछि जमिन फिर्ता गर्ने। पीडितले ६ लाख बुझाइसकेको र पछि थप गरी कुल १०-११ लाख रुपैयाँ बुझाइसकेको बताएका छन्। वडा कार्यालयमा जमिन फिर्ता गर्ने सहमति पनि भएको थियो।
साहु लक्ष्मी कुर्मी राउतको निधन भएपछि छोरा बिलास शाहले उक्त जमिन अर्कैको नाममा बिक्री गरिदिए। ऋण चुक्ता गरिसकेको दाबी गर्दै जमिन फिर्ता माग्दा पनि साहु पक्षले अटेर गर्यो। यद्यपि, इन्दल सहनीले करिब १० वर्षदेखि सोही जमिन जोत्दै आएका थिए।
पीडित इन्दल सहनी ‘मिटरब्याज विरुद्ध पैदल न्याय मार्च’ सकेर घर फर्किएपछि साहु महाजनले उनको जग्गामा धान रोप्न जबरजस्ती गरे। साहु विशाल शाहको नेतृत्वमा छोराहरू विशेषर शाह, लक्ष्मण शाह, जगदीश शाह, राम प्रवेश शाह र श्रीमतीसहितको समूहले इन्दल सहनीमाथि आक्रमण गर्यो। साहु महाजनले पीडितको जमिन हडप्ने नियतले मरणासन्न हुने गरी कुटपिट गरेको आरोप छ।
घाइतेहरूको बरहथवामा उपचार भइरहेको छ।
