पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला दुई दिनदेखिको अविरल वर्षाले कालीगण्डकी र सेतीखोलामा आएको बाढीले डुबाएको छ। शिलासम्म पुग्ने बाटो, सत्तल र परिक्रमास्थल जलमग्न भएपछि पूजाअर्चना र दर्शनार्थीको आवागमन बन्द गरिएको छ।
शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीका अनुसार कालीगण्डकीको बहाव ह्वात्तै बढेपछि शिला पूर्ण रूपमा डुबेको छ। यस क्षेत्रमा कार्यरत पुजारी र पण्डित विस्थापित भएका छन्। दर्शनार्थीहरू शालिग्रामको दर्शन गर्नबाट वञ्चित भएका छन्।
स्थानीय तिलक पराजुलीका अनुसार सेतीखोला र कालीगण्डकीको उच्च बहावका कारण शिला परिक्रमास्थल क्षतविक्षत बनेको छ। शिला क्षेत्र डुबे पनि तत्काल बस्तीमा खतरा नरहेको उनले बताए। शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबियन जाली पानीले पुरिएको छ।
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण सेतीवेणी बजार डुबानको उच्च जोखिममा छ। पर्वत र स्याङ्जाको बजार क्षेत्रका करिब दुई सय व्यापारी तथा सर्वसाधारण बाढीले क्षति पुर्याउने चिन्ताले त्रसित छन्। दुई वर्षअघिको बाढीले एक घर भत्काएको थियो। आधा दर्जन घर विस्थापित भएका थिए।
गल्याङ नगरपालिका–५ का वडाध्यक्ष घनश्याम भट्टराईले कालीगण्डकी नदीको बहाव परिवर्तन नगरेसम्म जोखिम कायम रहने बताए। उनले गुल्मीतर्फबाट बहावलाई शालिग्राम शिलाको संरक्षणतर्फ मोड्नुपर्ने माग रहेको उल्लेख गरे।
जिल्ला प्रहरी कार्यालय पर्वतले लगातारको वर्षाले खोला तथा नदीमा बाढीपहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। प्रहरी निरीक्षक राजन पटेलका अनुसार जोखिम जुनसुकै बेला आउन सक्ने भएकाले स्थानीयलाई सचेत रहन भनिएको छ।
