NM Khabar 8 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

श्रम संस्कृति पार्टी र सुदन किराती समूहबीच एकता, शक्ति बाँडफाँटमा सहमति

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र पूर्वमन्त्री सुदन किराती समूहबीच गएराति शक्ति बाँडफाँटमा सहमति जुटेको छ। किराती वरिष्ठ नेता बन्नेछन् भने उनको समूहले दुई पदाधिकारी र १५ केन्द्रीय सदस्य पाउनेछ। उनलाई कोशी प्रदेशको मुख्यमन्त्रीका रूपमा अगाडि बढाउने तयारी छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
8 May 2026, 11:02 am १ मिनेट पढाइ
आकार:
Share:

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र पूर्वमन्त्री सुदन किराती समूहबीच गएराति शक्ति बाँडफाँट र संगठनात्मक स्वरूपमा सहमति जुटेको छ।

सुदन किरातीका सहयोगी राजन समीपका अनुसार एकीकृत पार्टीमा किराती समूहले वरिष्ठ नेतासहित थप दुई पदाधिकारी पाउने छ। सहमतिअनुसार किरातीले वरिष्ठ नेताको भूमिका पाउनेछन् भने उनको समूहबाट एक जना उपाध्यक्ष र एक जना सचिव चयन गरिनेछ। त्यसैगरी, एकीकृत पार्टीको केन्द्रीय समितिमा किराती समूहबाट १५ जनालाई समेट्ने सहमति भएको छ। स्रोतका अनुसार किरातीले पूर्वएआइजीहरू र विभिन्न विधाका विज्ञहरूलाई केन्द्रीय संरचनामा ल्याएर हर्क साम्पाङलाई नाम बुझाउने तयारी गरिरहेका छन्।

पूर्वमाओवादी नेतासमेत रहेका किरातीले हालै प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका थिए। गत निर्वाचनमा पनि किरातीले साम्पाङको श्रम संस्कृति अभियानलाई प्रत्यक्ष रूपमा सघाएका थिए। लामो समयदेखिको सहकार्यलाई अब औपचारिक पार्टी एकतामा बदल्न लागिएको हो।

किराती निकट स्रोतका अनुसार उनलाई कोशी प्रदेशको मुख्यमन्त्रीका रूपमा श्रम संस्कृति पार्टीले अगाडि बढाउने भएको छ।

सहमतिअनुसार आजै संघीय राजधानी काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरी एकताको घोषणा गर्ने तयारी गरिएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

Nmkhabar की सरकारी तथा संस्थागत मामिला संवाददाता। मन्त्रिपरिषद्, संसद र सरकारी निकायका आधिकारिक निर्णयको विस्तृत र सटिक रिपोर्टिङ।

सम्बन्धित समाचार