सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत श्रम शोषणलाई गम्भीर आर्थिक अपराधका रूपमा परिभाषित गरेको छ। यससँगै श्रम सम्झौताको उल्लंघन, ज्याला ठगी र अन्य प्रकारका श्रम शोषणलाई कानुनी दायरामा ल्याई कडा कारबाही गरिने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै लिखित श्रम सम्झौता, न्यूनतम ज्यालाको पालना, बीमा, कार्यस्थल सुरक्षाका मापदण्ड र बैंकमार्फत पारिश्रमिक भुक्तानीलाई अनिवार्य गरिने बताए। यी व्यवस्थाको कार्यान्वयनले श्रमिकहरूको हकहितको रक्षा गर्ने र कार्यस्थलमा हुने ठगी तथा शोषण नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।
कार्यस्थल दुर्घटनामा परेका श्रमिकहरूका लागि अनिवार्य क्षतिपूर्ति र बीमा दाबी प्रक्रियालाई थप प्रभावकारी बनाइने भएको छ। यसका अतिरिक्त, आगामी पुष मसान्तभित्र श्रम न्यायाधीकरणमार्फत श्रम विवादहरूको समाधान गरिने घोषणा पनि गरिएको छ।
यसैगरी, बजेटले नेपालको परराष्ट्र सम्बन्धलाई सन्तुलित र सुदृढ गर्दै आर्थिक समृद्धिलाई प्राथमिकता दिएको छ। अर्थमन्त्री वाग्लेले आर्थिक कूटनीति, सांस्कृतिक पहिचान, प्रविधि र पर्यटनको एकीकृत उपयोगमार्फत नेपालको अन्तर्राष्ट्रिय उपस्थिति र विश्वसनीयता विस्तार गर्ने बताए।
नेपालको सौम्य शक्ति (सफ्ट पावर) विस्तारका लागि लुम्बिनी, सगरमाथा, हिमालय, योग, सांस्कृतिक विविधता र शान्तिवादी छविलाई विश्वभर प्रचार गरिनेछ। विदेशस्थित नेपाली नियोगहरूलाई सशक्तीकरण गरी निर्यात, व्यापार, लगानी र पर्यटन प्रवर्द्धनमा जोड दिइनेछ।
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी प्रावधानलाई समसामयिक बनाउँदै ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने नारालाई मूर्तरूप दिने तथा उनीहरूको लगानी, सीप र ज्ञानलाई राष्ट्रिय विकासमा उपयोग गर्ने नीति लिइनेछ।
पूर्वाधार विकासका सन्दर्भमा, आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङमार्ग निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ। महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडकखण्डको ट्र्याक खोल्ने कार्यलाई प्राथमिकता दिइनेछ। मेची, अरुण, कोशी, भेरी, सेती करिडोर तथा खुटिया–दिपायल सडकको स्तरोन्नतिलाई पनि तीव्रता दिइनेछ।
काठमाडौँ उपत्यकामा चक्रपथ विस्तारअन्तर्गत कलङ्की–बसुन्धरा खण्ड सुरु गरिनेछ भने बसुन्धरा–चाबहिल–कोटेश्वर खण्डको डिजाइन सम्पन्न गरिनेछ। टोखा–छहरे सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन गरिनेछ। कर्णाली प्रदेशको जनजीवन सहज बनाउन जाजरकोट–जुम्ला सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिनेछ।
