बाराको इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत डीएसपी दिलिप क्षेत्रीको जिम्मेवारी खोसिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाउने निर्णय गरेका हुन्।
क्षेत्रीको ठाउँमा सिमरामा नयाँ डीएसपीको रुपमा दयाकृष्ण भट्टलाई पठाइएको छ। भट्ट यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए। प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले डीएसपी क्षेत्रीलाई प्रधान कार्यालयमा तानिएको पुष्टि गरेका छन्।
यो कारबाही सिमरामा भदौ २ गते मृत अवस्थामा भेटिएकी ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा प्रहरीले ‘बेवास्ता’ गरेको भन्दै स्थानीय आन्दोलित भएपछि भएको हो। साउन ३१ गतेदेखि हराएकी बालिकाको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको छ।
स्थानीयको आरोप छ कि बालिका हराएको जानकारी पाएपछि पनि प्रहरीले खोजतलास र अनुसन्धानमा पर्याप्त ध्यान दिएन। यस घटनामाथि प्रतिनिधिसभा सदस्यहरूले समेत डीएसपी क्षेत्रीको भूमिकामाथि प्रश्न उठाएका थिए।
प्रहरीले यस घटनामा संलग्न भएको आरोपमा जितपुर सिमरा उपमहानगरपालिका–२ का १६ वर्षीय सुमन थापा र सिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार, थापाले चकलेट दिएर बालिकालाई फकाई घटनास्थलमा लगेर बलात्कार गरी हत्या गरेको खुलेको छ। पक्राउ परेका अर्का आरोपी, प्रोग्रेस चौधरी, घटनामा प्रयोग भएको म्याजिकका धनी हुन्।
