सिरहा प्रहरीले गोलबजार र कमला नदी क्षेत्रबाट अवैध उत्खननमा प्रयोग भएका १० टिपर र एक स्काभेटर नियन्त्रणमा लिएको छ। प्रहरीलाई देखेपछि चालकहरू फरार भएका छन्।
गोलबजार नगरपालिका-३ गागनखोलाबाट ८ वटा टिपर नियन्त्रणमा लिइएको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गोलबजारको संयुक्त टोलीले ती टिपर नियन्त्रणमा लिएको हो।
प्रहरीलाई देखेर टिपरका चालकहरू फरार भएका छन्। इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुधन केसीले अहिलेसम्म कोही धनी वा चालक सम्पर्कमा नआएको बताए।
त्यसैगरी, सिरहा नगरपालिका-१३ गमहरियास्थित कमला नदीबाट दुईवटा टिपर र एउटा स्काभेटर नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी इन्सपेक्टर नरेश लिम्बुले यो जानकारी दिए।
नियन्त्रणमा लिएका सबै सवारी साधन आवश्यक कारबाहीका लागि सम्बन्धित पालिकामा बुझाइएको प्रहरीले जनाएको छ।
