सिरहाको लहान नगरपालिका–३ स्थित अस्पताल चोकमा प्रहरीले गोली प्रहार गरी ६ जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट २४३ ग्राम खैरो हेरोइन बरामद भएको छ।
लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको टोलीले विशेष अपरेशन चलाउने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार भारतबाट नेपालतर्फ खैरो हेरोइन ल्याई ओसारपसार र बिक्री वितरण भइरहेको सूचनाका आधारमा टोली परिचालन गरिएको थियो।
पक्राउ गर्ने क्रममा अभियुक्तहरूले प्रहरीमाथि आक्रमण गरी भाग्ने प्रयास गरेपछि प्रहरीले आत्मरक्षाका लागि पहिले ५ राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि पनि उनीहरू नरोकिँदा प्रहरीले गोली चलाएको थियो।
गोली लागेर भारतको बिहार घर भएका २२ वर्षीय विद्यानन्द यादव र सप्तरीको रुपनी गाउँपालिका–१ घर भएका ४० वर्षीय मोहम्मद नसिर घाइते भएका छन्। नसिरको बायाँ खुट्टा र यादवको दाहिने खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। दुवै जनाको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
पक्राउ परेका अन्यमा सप्तरीको बोदेबरसाइन नगरपालिका–२ का २८ वर्षीय शम्भु प्रसाद यादव, सोही नगरपालिकाका २४ वर्षीय बैद्यनाथ प्रसाद यादव, सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का २८ वर्षीय जमाहिर आलम र सोही नगरपालिकाका ३२ वर्षीय मोहम्मद ईमामुद्धिन छन्।
प्रहरीले घटनास्थलबाट २४३ ग्राम खैरो हेरोइनका साथै दुई थान मोटरसाइकल र सात थान मोबाइल फोन पनि बरामद गरेको छ। पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहान, सिरहामा बुझाइएको छ।
