सभामुख डोलप्रसाद अर्यालले सुशासन नागरिकको सबैभन्दा ठूलो जनअपेक्षा भएको बताएका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित जिल्ला समन्वय समितिको नवौँ सभा तथा आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा कार्यक्रममा बोल्दै उनले पछिल्लो समय पारदर्शिता, जवाफदेहीता र उत्तरदायीका विषयमा उठेका सवालले राज्य प्रणालीलाई थप जिम्मेवार र नागरिकमैत्री बनाउन महत्वपूर्ण प्रेरणा दिएको बताए।
सभामुख अर्यालले लोकतन्त्र निर्वाचनबाट मात्र सुदृढ नहुने भन्दै प्रेरणामुखी सेवाको आवश्यकतामाथि जोड दिए। उनले यसले लोकतन्त्रको जीवन्तता र नागरिक चेतनाको उचाइलाई प्रतिबिम्बित गर्ने बताए।
उनले सङ्घीयताको वास्तविक परीक्षण सिंहदरबारबाट मात्र नहुने र स्थानीय तहको सेवाको मापनमा निर्भर हुने बताए। संविधानले दिएको जिम्मेवारी र अवसरलाई नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी स्थानीय तहले काम गर्नुपर्ने, सङ्घीय संसद्ले निर्माण गर्ने कानुनको अन्तिम सफलता स्थानीय तहको प्रभावकारी कार्यान्वयनमा निर्भर रहने र स्थानीय तह नागरिकको अझ नजिकको सरकार भएको कुरामा उनले जोड दिए।
‘सरकार मेरो लागि छ’ भन्ने नागरिकको चाहनाअनुरुप सरकारले काम गर्नुपर्ने बताउँदै सभामुख अर्यालले कार्यापालिका, न्यायपालिका र व्यवस्थापिकाको ‘स्प्रीड’ले आमनागरिक तथा कर्मचारी वर्गले आत्मसम्मानपूर्वक महसुस गर्ने बताए।
उनले संविधानको अक्षरशः पालना गरेरै विधि, सिद्धान्त, कानुन, ऐन परिमार्जन र संशोधन गर्नुपर्ने धारणा राखे। ‘हाम्रो र हुर्कँदै गरेको पुस्ताको आवश्यकतालाई हेरेर संविधान संशोधन गर्नुपर्दछ, त्यसमा सबै राजनीतिक दल, क्षेत्र तथा व्यक्तिको भावना समेटिनुपर्छ,’ उनले भने।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख दीपक गौतमले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सो अवसरमा सभामुख अर्यालले गत प्रतिनिधिसभा निर्वाचनमा काभ्रेपलाञ्चोकबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएका मधुकुमार चौलागाईं र बदन भण्डारी, समानुपातिक सांसद राम लामा तथा विभिन्न विधानमा उत्कृष्ट जिल्लाका स्थानीय तहका जनप्रतिनिधिलाई सम्मानसमेत गरेका थिए।
