सडक बालबालिका मुक्त नेपाल बनाउने राष्ट्रिय लक्ष्यअनुरूप जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको खोजतलास, दैनिक गस्ती तथा उद्धार कार्य तीव्र पारिएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) ले यो अभियान चलाइरहेको छ।
मन्त्री सिता बादी पदबहालीपछि मन्त्रालयले सडक बालबालिकाको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ। दैनिक गस्ती, उद्धार र पुनर्स्थापनासम्बन्धी कार्यलाई थप प्रभावकारी बनाइएको छ।
अभियानले सडकमा जोखिमपूर्ण अवस्थामा रहेका, भीख माग्न बाध्य भएका वा जीविकोपार्जनका लागि पानी, मास्कजस्ता सामग्री बिक्री गर्न बाध्य बालबालिकालाई नियमित पहिचान गरी उद्धार गर्छ। उद्धार गरिएका बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श प्रदान गरिन्छ। अभिभावकलाई सचेतना दिइन्छ। आवश्यकतानुसार पुनर्स्थापनाको प्रक्रिया अघि बढाइन्छ।
मन्त्री बादीले प्रत्येक बालबालिकालाई सडकको जोखिमपूर्ण जीवनबाट मुक्त गरी सुरक्षित वातावरण, शिक्षा, संरक्षण र सम्मानपूर्ण भविष्य सुनिश्चित गर्नु सरकारको प्राथमिक दायित्व भएको बताइन्। सडक बालबालिका मुक्त नेपाल बनाउने राष्ट्रिय लक्ष्य हासिल गर्न मन्त्रालय दृढतापूर्वक अगाडि बढिरहेको उनको भनाइ छ।
