काठमाडौं उपत्यकाका नदी किनार र सरकारी जग्गा अतिक्रमण गरी बसेका सुकुम्वासी बस्तीमा डोजर चलेपछि ती क्षेत्र अहिले उजाड बनेका छन्। एकातर्फ घरबारविहीन बनेका मानिसहरू होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्, अर्कोतर्फ भग्नावशेषमा परिणत भएका ती ठाउँहरूमा कवाडी संकलन गर्नेहरूको चहलपहल बढेको छ। यो अवस्थाले विस्थापितका लागि ‘दशा’ बनेको छ भने कवाडी संकलकका लागि ‘दशैँ’ जस्तो अवसर लिएर आएको छ।
सरकारले काठमाडौं उपत्यकाका दर्जनौँ सुकुम्वासी बस्तीहरू भत्काएपछि ती क्षेत्र कवाडी संकलकका लागि आम्दानीको नयाँ स्रोत बनेका छन्। भत्काइएका घरटहराबाट जस्तापाता, फलाम तथा विभिन्न धातुजन्य सामग्री संकलन गर्न उनीहरू बिहानैदेखि ती बस्तीहरूमा पुग्ने गरेका छन्।
गत शनिबार टेकुस्थित वंशीघाट क्षेत्रमा रहेको सुकुम्वासी बस्ती हटाइएपछि त्यहाँ पनि कवाडी संकलन गर्नेहरूको चहलपहल ह्वात्तै बढेको छ। यहाँ पनि भत्काइएका संरचनाबाट निस्किएका फलाम र जस्तापाताजस्ता सामग्रीहरू बटुल्नेहरूको भीड लागेको छ, जसले उजाडिएको बस्तीमा एक प्रकारको फरक रौनक थपेको छ।
