सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको घटनापछि उत्पन्न शान्ति–सुरक्षाको परिस्थितिबारे प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन्। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे जानकारी लिएका हुन्।
ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन निर्देशन दिए। उनले आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्त्वहरूमाथि कडा निगरानी राख्न आदेश दिए। प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा कायम राख्न कुनै सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिए।
यद्यपि, बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी घटनालाई सम्बोधन गरेन। सरकारले विभिन्न ५ निर्णयहरू सार्वजनिक गरे पनि यस विषयमा कुनै आधिकारिक जानकारी दिएन। बैठकअघि प्रमुख राजनीतिक दलहरूको सर्वदलीय बैठकले शान्ति, सद्भाव र संयम कायम राख्न आह्वान गरेको थियो। प्रधानमन्त्री शाहले मंगलबार सामाजिक सञ्जालमार्फत घटनाबारे धारणा सार्वजनिक गरेका थिए।
