सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा झडप नियन्त्रण गर्न सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा किसान ओमप्रकाश मेहताको मृत्यु भएको छ। आइतबार राति प्रहरीको गोली लागेका देवानगन्ज–४ का ३० वर्षीय मेहताको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। गत फागुनमा मात्र विवाह गरेका मेहता स्थानीय किसान हुन्। घटनामा ९ स्थानीय र सुरक्षाकर्मीसमेत घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार, प्रहरीतर्फ नेपाल प्रहरीका आठ र सशस्त्र प्रहरीका पाँच जना घाइते भएका छन्। आइतबार राति करिब १० बजेतिर बोलबम यात्रामा सहभागीहरू डीजे बजाउँदै कप्तानगन्ज चोकबाट जाँदा चर्को आवाजलाई लिएर अर्को समुदायका व्यक्तिले आपत्ति जनाएका थिए। विवाद बढ्दै जाँदा प्रहरीले दुवै पक्षलाई सम्झाउने प्रयास गर्दा भीडमा रहेका केही व्यक्ति चिर्पट, ढुंगा, बाँस, लाठी र भाला बोकेर आएको खड्काले बताए। यस क्रममा इलाका प्रहरी कार्यालय देवानगन्जका प्रहरी निरीक्षक राकेश राईसहित आठ प्रहरी घाइते भएका छन्।
सशस्त्र प्रहरीको टोली पुग्नुअघि तनावग्रस्त क्षेत्रमा एक्कासि बिजुली काटिएको थियो। यस विषयमा अनुसन्धान गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापा नेतृत्वको ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिलाई पनि सदस्य बनाइएको छ।
प्रत्यक्षदर्शी जुगेश दासले सुरक्षाकर्मीले अन्धकारमा अन्धाधुन्ध गोली चलाएको आरोप लगाए। ‘सुरुमा अवस्था त्यति साह्रो बिग्रिएको थिएन, वादविवाद हुँदै थियो,’ उनले कान्तिपुरसँग भने, ‘तर एक्कासि भटटट गोलीका आवाज आए, हामीले भागेर ज्यान बचायौं।’
बल तथा हतियार प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्तले भीड नियन्त्रणमा ‘गैरघातक’ हतियार प्रयोग गर्नुपर्ने बताउँछ। स्थानीय प्रशासन ऐन, २०२८ ले शान्तिसुरक्षा कायम हुन नसक्ने अन्तिम विकल्पमा मात्र गोली चलाउन सक्ने व्यवस्था गरेको छ। गोली चलाउनुपर्ने भए चेतावनी दिनुपर्ने प्रावधान छ। तर, स्थानीयवासीले प्रशासनले चेतावनी नदिएको बताएका छन्।
स्थानीय प्रशासन ऐनको दफा ६ को उपदफा (ख) मा ‘भीड हटेन र गोली चलाउनुपर्ने नै भयो भने घुँडामुनि पारी गोली चलाउनका लागि आदेश लेखी सही गरेर दिने’ भनिएको छ। तर सुनसरीमा अधिकांशको घुँडाभन्दा माथि गोली लागेको छ। डीएसपी खड्काका अनुसार, जयप्रकाश मेहताको पेटमा, मिथलेश यादव र मिथलेश मेहताको बायाँ कोखमा, अमलेश मेहताको बायाँ काँधमा, अमितकुमार यादवको बायाँ हात र कोखमा, रवीन्द्र मेहताको बायाँ तिघ्रामा गोली लागेको छ। अमितकुमार यादवको कम्मरमा, सुनीलकुमार मेहताको बायाँ घुँडामा तथा अर्का सुनीलकुमार मेहताको बायाँ कुहिनामा गोली लागेको छ।
राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी सुरक्षा निकायले भीड नियन्त्रणमा अपनाउने तरिका ‘आपराधिक मानसिकता’बाट प्रेरित रहेको बताउँछिन्। ‘कसरी कम क्षतिमा समस्या समाधान गर्न सकिन्छ भन्नेतिर उनीहरूको ध्यानै भएन, सुनसरीमा पनि त्यही दोहोरियो,’ उनी भन्छिन्, ‘स्थानीयले प्रहरीले आउनेबित्तिकै फायर खोलेको बताए, सम्झाउन अधिकतम प्रयास गर्नुपर्ने हो तर त्यसमा ध्यान दिएको देखिँदैन।’
प्रहरी अधिकृतहरू लाठीचार्ज, अश्रुग्यास र हवाई फायरपछि अवस्था नियन्त्रणबाहिर गएकाले गोली चलाउन बाध्य भएको दाबी गर्छन्। सुरक्षा मामिला विज्ञहरू सुनसरी घटनामा समन्वय र कमान्डमा समस्या देखिएको बताउँछन्। यो घटना हुँदा कोशी प्रदेश प्रहरी कार्यालय, सुनसरी प्रहरी र सशस्त्र प्रहरी बलको जिल्लास्थित कार्यालय नेतृत्वविहीन थियो।
नेपाल प्रहरीका जिल्ला प्रमुख एसपी केशवकुमार थेबे बिदामा रहेकाले डीएसपी चन्द्र खड्काले निमित्त प्रमुखको जिम्मेवारी सम्हालिरहेका थिए। सुनसरीस्थित सशस्त्र प्रहरी गणका गणपति (एसपी) श्याम कार्कीलाई तस्करी नियन्त्रण प्रभावकारी नभएको भन्दै काठमाडौं तानिएको दुई साता भइसकेको थियो। कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे पनि बिदामा रहेकाले प्रदेशको सुरक्षा कमान्ड निमित्त अधिकारीमार्फत सञ्चालन भइरहेको थियो।
घटनापछि कोशी प्रदेश प्रहरी कार्यालयबाट एसपी नारायण चिमरिया र एसपी सुमन तिम्सिना सुनसरी पुगेर समन्वयमा खटिएका थिए। घटनास्थलको कमान्ड इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले गरेका थिए। पूर्वडीआईजी उत्तमकुमार कार्की निमित्तका भरमा चलेका सुरक्षा संयन्त्रले तत्काल निर्णय लिन, समन्वय गर्न र टोली परिचालन गर्न ढिलाइ हुने बताउँछन्। ‘सदरमुकामबाट नजिकै रहेको र अरू बेला पनि तनाव भइरहने ठाउँमा परिपक्व कमान्ड जरुरी हुन्थ्यो,’ उनले भने, ‘तर, चुक भएको देखिन्छ।’
गृह मन्त्रालयले कमजोरी महसुस गर्दै प्रदेश प्रहरी प्रमुखसहित सुरक्षा नेतृत्व परिवर्तन गरेको छ। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको ठाउँमा ईश्वरीप्रसाद अर्याल, कोशी प्रदेश प्रहरी प्रमुखमा डीआईजी शेखर खनाल, सुनसरी प्रहरी प्रमुखमा एसपी पुष्पराज मल्ल खटाइएका छन्। सशस्त्र प्रहरी बल नेपाल कप्तानगन्जमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर डीएसपी मदन नाथलाई पठाइएको छ।
राति गोली चलेपछि सोमबार दिनभर देवानगन्जको अवस्था तनावपूर्ण बन्यो। प्रशासनले कर्फ्यु लगाएको छ। सुनसरीको तनावले जनकपुर, विराटनगर र राजविराजमा समेत विरोध प्रदर्शन भएको छ। सोमबार देवानगन्जमा तीन मोटरसाइकल, केही पसल तथा सम्पत्तिमा आगजनी र तोडफोड भयो।
जिल्ला प्रशासन कार्यालयले देवानगन्ज र हरिनगरका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गर्यो। ठूलो संख्यामा प्रहरी र सेना परिचालन गरियो। कर्फ्युका बाबजुद देवानगन्ज, इनरुवा र लौकहीमा प्रदर्शन भए। नेपाली सेनाले सोमबार दिउँसो १ बजेदेखि बख्तरबन्द गाडीसहित गस्ती गरिरहेको छ।
प्रशासनले घटनाको १५ घण्टापछि सोमबार सर्वदलीय बैठक बोलाएर दुवै समुदायका अगुवा र स्थानीयसँग संवाद गर्यो। दुवै पक्षले संयमता अपनाउने सहमति गरेका छन्। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सबै पक्षलाई संयमित रहन, अफवाहमा विश्वास नगर्न तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरिएको बताए।
सुनसरीका मानवअधिकारकर्मी रमेश भट्टराईले सामान्य विवाद एक्कासि हिंसात्मक झडपमा परिणत भएको भन्दै गम्भीर छानबिनको माग गरेका छन्। ‘प्रहरीले अपनाएको बल प्रयोग कानुनी मापदण्डअनुसार थियो कि थिएन? संवेदनशील सीमावर्ती जिल्लामा सुरक्षा नेतृत्वको रिक्तताले निर्णय प्रक्रियामा कुनै असर पार्यो कि पारेन?,’ उनले प्रश्न गर्दै भने, ‘यो विषयमा गम्भीर छानबिन हुनुपर्छ।’
