NM Khabar 13 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

तराईबाट ५ दिनमै २ लाख ३३ हजार ग्यास सिलिन्डर काठमाडौंमा

कृष्णभीर सडक अवरुद्ध भएपछि वैकल्पिक व्यवस्था गरिएको। ५ दिनमा २ लाख ३३ हजार ६६२ ग्यास सिलिन्डर उपत्यका भित्र्याइएको। तराईका उद्योगहरूबाट रिफिल गरी ग्यास आपूर्ति निरन्तरता दिइने।
Kamala Devi
Kamala Devi
12 September 2026, 8:02 pm १ मिनेट पढाइ
आकार:
ग्यास सिलिन्डर आपूर्ति
Share:

नेपाल आयल निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगहरूबाट रिफिल गराइएका २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिन्डर ५ दिनको अवधिमा काठमाडौं उपत्यका भित्र्याएको छ।

गत भदौ १४ गतेदेखि कृष्णभीर सडक अवरुद्ध भएपछि उपत्यकामा ग्यास अभाव हुन नदिन निगमले काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकका ग्यास उद्योगका सिलिन्डरहरू तराईका जिल्लाहरूमा लगेर रिफिल गर्ने विशेष व्यवस्था मिलाएको थियो।

निगमका अनुसार बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका ग्यास उद्योगहरूबाट सिलिन्डर रिफिल गरी वैकल्पिक सडकमार्फत काठमाडौं ल्याएर बिक्री वितरण भइरहेको छ।

कृष्णभीर सडक खण्ड नियमित सञ्चालनमा नआएसम्म यही प्रक्रियामार्फत ग्यास आपूर्तिलाई निरन्तरता दिइने निगमले बताएको छ।

निगमको केन्द्रीय कार्यालयद्वारा जारी विवरणअनुसार भदौ २२ देखि २६ गतेसम्म कुल २ लाख ३३ हजार ६६२ वटा सिलिन्डर उपत्यकामा बिक्री वितरण भएका छन्।

सबैभन्दा बढी सिलिन्डर भदौ २४ गते ५३ हजार ४६९ वटा उपत्यका भित्रिएका थिए। यसैगरी, भदौ २२ गते ४८ हजार १०९, भदौ २३ गते ४६ हजार २१८, भदौ २५ गते ४५ हजार २३० र भदौ २६ गते ४० हजार ६३६ वटा ग्यास सिलिन्डर काठमाडौं ल्याइएको थियो।

उपत्यकामा आपूर्ति गरिएका प्रमुख ब्रान्डहरूमा श्री ग्यास, एभरेष्ट, नेपाल ग्यास, सगर, साईबाबा, एच.पी., एस.टी.सी., श्रीराम, श्रीकृष्ण, ओम र सूर्यलगायतका २० वटा ग्यास उद्योगका सिलिन्डर रहेका छन्।

राजमार्ग अवरुद्ध हुँदासमेत वैकल्पिक व्यवस्था चुस्त बनाइएकाले उपभोक्तालाई ग्यास अभाव नहुने निगमले जनाएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार