NM Khabar 5 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ठोरी नाकामा सुरक्षा कडाइ: सयौँ भारतीय पर्यटक अलपत्र, व्यवसायी चिन्तित

पर्साको ठोरी नाकामा सशस्त्र प्रहरीले भारतीय सवारी साधन प्रवेशमा कडाइ गरेको छ। यस कडाइका कारण सयौँ भारतीय पर्यटक सीमामै अलपत्र परेका छन्, जसले स्थानीय पर्यटनमा असर पुगेको छ। प्रहरीले सुरक्षा व्यवस्थामा समस्या आउन नदिन माथिको निर्देशनअनुसार कडाइ गरिएको जनाएको छ।
Kamala Devi
Kamala Devi
4 July 2026, 9:03 am १ मिनेट पढाइ
आकार:
Share:

पर्साको ठोरी नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटकका सवारी साधनमाथि सशस्त्र प्रहरीले कडाइ गरेपछि सयौँ पर्यटक सीमामै अलपत्र परेका छन्।

ठोरी जंगल रिसोर्टका सञ्चालक सुदीप थापाका अनुसार, शुक्रबारदेखि सशस्त्र प्रहरीको बीओपीले भारतीय नम्बरका सवारीसाधनलाई ठोरी प्रवेशमा पूर्ण रोक लगाएको छ।

नेपाल प्रवेश गर्न नपाएपछि भारतीय पर्यटकका सवारी साधन सीमा क्षेत्र ठुटेखोला पुलपारी रोकिएका छन्। ठोरी बजार पुग्ने सार्वजनिक सवारी साधन नभएकाले ठूलो संख्यामा पर्यटकहरू अलपत्र परेको थापाले बताए।

भारतीय पर्यटकका सवारी साधन नेपाल प्रवेश गर्न नपाएपछि ठोरीका पर्यटकीय गन्तव्य तथा होटेल, रिसोर्टहरू सुनसान भएका छन्। स्थानीय व्यवसायीहरूका अनुसार यहाँको पर्यटन भारतीय पर्यटकमाथि नै निर्भर छ।

ठोरीको पर्यटन क्षेत्रमा ५० करोडभन्दा बढी लगानी भइसकेको अवस्थामा भारतीय पर्यटकका सवारी साधनमाथि रोक लगाइएपछि व्यवसायीहरू चिन्तित बनेका छन्। ठोरीको पर्यटकीय क्षेत्र मुश्किलले ४ किमी लम्बाइको दायरामा रहेको व्यवसायी थापाले जानकारी दिए।

यसबारे सशस्त्र प्रहरी पोष्टमा बुझ्दा भारतीय सवारी साधन नेपाल प्रवेश गर्न नदिन माथिबाट निर्देशन आएको जानकारी दिएको थापाले बताए। यसअघि पनि ठोरी नाकाको सञ्चालन र भन्सार व्यवस्थापनमा देखिएको समस्याले यस क्षेत्रको पर्यटन व्यवसायमा असर परेको थियो।

पर्यटन-मैत्री नीतिको चर्चा भइरहेका बेला पर्यटकलाई सीमाबाटै फर्काउनुले पर्यटन प्रवर्द्धनको सरकारी नीतिमै प्रश्न उठेको उनको भनाइ छ।

सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक मोहन सिंह क्षेत्रीले ठोरी नाका मात्र नभइ जिल्लाका भिष्वा, धोरेलगायतका नाकामा पनि कडाइ गरिएको बताए। बिना इजाजत भारतीय सवारी साधन निर्वाध नेपाल प्रवेश गर्ने र कतिपय भारतीयहरूबाट सुरक्षा व्यवस्थामा समस्या आउने गरेकाले कडाइ गरिएको उनले प्रस्ट्याए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार