जनकपुर यातायात व्यवस्था कार्यालय, धनुषाले तीन सातादेखि नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण र नवीकरण ठप्प पारेको छ। यातायात व्यवस्था विभागको सर्भरमा आएको प्राविधिक समस्याले यो सेवा अवरुद्ध भएको छ। केन्द्रबाट समस्या समाधान नहुँदा असार २९ गतेदेखि नयाँ लाइसेन्स वितरण रोकिएको छ। यस अवधिमा कार्यालयले सवारी कर मात्र संकलन गरिरहेको छ। नियमित प्रक्रिया चलेको भए अहिलेसम्म ४/५ लट लाइसेन्स वितरण भइसक्थ्यो।
कार्यालय प्रमुख वासुदेव मल्लका अनुसार, विभागको सर्भरबाट प्रदेशको डाटा सार्ने र नयाँ सर्भर जडानको काम भइरहेको छ। श्रम तथा यातायात मन्त्रालयले साउन १ गतेदेखि केन्द्रको समन्वयमा नयाँ सफ्टवेयर निर्माण सुरु गरेको छ। विभागको सर्भर मर्मतसम्भारमा रहेकाले पनि नयाँ लाइसेन्स दिन नसकिएको मल्लले बताए। प्राविधिक पक्षमा हुने भएकाले समाधानमा केही समय लागेको उनको भनाइ छ।
कार्यालयले लिखित परीक्षा र ट्रायल उत्तीर्ण भएकाहरूलाई लाइसेन्स प्रदान गर्दै आएको थियो। विभागमा प्रदेश कार्यालयको समस्या समाधान गर्न समन्वयकर्ताको अभावले पनि ढिलाइ भएको कार्यालय स्रोतले जनाएको छ। मल्लले अधिकांश काम डिजिटल्ली गर्नुपर्ने अवस्थामा बारम्बार समस्या आउँदा सेवाग्राहीको गुनासो सुन्नुपर्ने बाध्यता रहेको बताए। उनले नयाँ सरकार आएपछि केही सर्वसाधारणले प्रक्रिया नबुझी गालीगलौज गर्ने गरेको गुनासो पनि गरे।
कर्मचारीहरूका अनुसार, विगतमा कोशी प्रदेशको डाटा यहाँ देखिने र यहाँको डाटा कर्णालीमा देखिने जस्ता समस्याहरू पनि उत्पन्न भएका थिए। विभागले प्रदेशगत संरचना मिलाउन नसक्दा दैनिक काम प्रभावित हुने गरेको उनीहरूको अनुभव छ। तीन सातादेखि नयाँ लाइसेन्स वितरण र नवीकरण प्रक्रिया रोकिएपछि सयौं युवाहरू कार्यालयमा आइरहेका छन्।
धनुषा विदेह नगरपालिकाका रामसोगारथ महतोले काम गर्ने स्थलमा लाइसेन्स मागेको तर कार्यालयमा आएर हाल वितरण नभएको भन्दै फर्काइएको गुनासो गरे। नयाँ सरकार आएपछि काम छिटो होला भन्ने आशा निराशामा परिणत भएको उनले बताए। जनकपुर–१५ की रिना यादवले स्कुटीको लाइसेन्सका लागि लिखित र ट्रायल पास गरे पनि दुई पटक कार्यालय धाउँदा लाइसेन्स वितरण नभएको भन्दै फर्काइएको बताइन्। उनले एउटा सानो काम रोकिँदा व्यक्तिको क्यारियर बर्बाद हुन सक्ने र सुशासनको कुरा गर्ने सरकारले जनतालाई सेवा दिन नसकेकोमा चिन्ता व्यक्त गरिन्।
मधेस प्रदेशका श्रम तथा यातायात मन्त्रालयका निमित्त सचिव रंजित कुमार यादवले पुरानो सिस्टम हटाएर नयाँ सिस्टम निर्माणको क्रममा प्रक्रिया अवरुद्ध भएको बताए। नयाँ सिस्टम बनेपछि विगतमा जस्तो लाइसेन्स लिन पटकपटक कार्यालय धाउनु नपर्ने र नवीकरण अनलाइनबाटै गर्न सकिने उनको दाबी छ। साउन महिनाभित्रै यो समस्या समाधान हुने उनले बताए।
लाइसेन्स नवीकरणमा समस्या आउँदा म्याद सकिन लागेकाहरू झनै पीडित बनेका छन्। महोत्तरी मटिहानीका सौरभ झाले लाइसेन्सको म्याद ४ दिन मात्र बाँकी रहेको र कार्यालयले समयमै नवीकरण नगरे नयाँ बनाउनुपर्ने प्रक्रिया अपनाउनुपर्ने बाध्यता आउने गुनासो गरे। कार्यालयका कर्मचारीहरूले यो ठूलो समस्या भएको र सेवाग्राहीको चित्त बुझाउन नसक्दा लुक्नुपर्ने अवस्थासमेत आउने गरेको गुनासो व्यक्त गरे।
